काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलवीच भेटवार्ता भएको छ ।
नेता नेपाल रावललाई भेट्न बुधबार साँझ उहाँकै निवास टोखा पुग्नुभएको थियो ।
बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएका कारण नेता नेपाल उहाँलाई भेट्न जानुभएको थियो । उहाँहरुवीच करिब २ घण्टा कुराकानी भएको बताइएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गर्नुभएको थियो ।
रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।
बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। राजीनामा फिर्ताका लागि अरु नेताहरुले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुग्नुभएको थियो ।
आजको छलफलमा पनि पार्टी एकताकै विषयमा कुराकानी भएको बताइएको छ ।नेता नेपालले टोखा पुगेर रावललाई फकाउने प्रयास गरेको स्रोतले बताएको छ। रावललाई आफ्नै समूहमा राखेर अघि बढ्ने गरी उहाँ बुद्धनगरको बैठकबाट सिधै टोखा पुग्नुभएको थियो । नेपालनिकट स्रोतले भने रावलसँग पार्टी एकतामा नै केन्द्रित भएर कुरा भएको जनाएको छ।