काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा रहनुभएका अर्थमन्त्री जनार्दन शर्मा भिजन भएको नेता भन्दै प्रशंसा गरेका छन् ।
बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, ‘हाम्रो अर्थ मन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नु हुनेछ । उहाँले सक्नु हुन्छ पनि । अत्यन्तै मेहनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’
कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान समेत गरेका छन् । नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरूले सहयोग गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीका कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासका लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए ।