काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा संसदीय व्यवस्थाको औचित्य समाप्त भएको बताएका छन् । उनको पार्टीद्वारा प्रकाशित अंग्रेजी पत्रिका रेडफ्रण्टको बुधबार राजधानीमा विमोचन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।
रेडफ्रन्टको विमोचन गर्दै विप्लवले नेपालको संसदीय व्यवस्थामा पंचायत कालको भन्दा अचाक्ली विकृति देखिन थालेको बताए । नेपालमा राजनीति दलालीकरण भएको भन्दै संसदीय व्यवस्थामा भएका पार्टीहरुले आफ्नो देशको निर्णय आफै लिन नसक्ने अवस्था रहेको धारणा व्यक्त गरे ।
उनले भने ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, नेताहरुको उपचार गर्न विदेश चाहिन्छ । पंचायतमा पनि यति साह्रो विकृति थिएन । दलालीकरनको भद्धारूप अहिले देखिइरहेको छ ।’ उनले वैज्ञानिक समाजवादमा देशको हरेक कुराको निर्णय आफैले गर्नसक्ने भएको हुँदा देशलाई वैज्ञानिक समाजवादको बाटोमा लैजानुपर्ने उनले बताए ।
वैज्ञानिक समाजवादको लागि जनमत संग्रहमा नगई कसैलाई सुख नहुने उनको भनाई थियो । २०३६ सालमा जनमत संग्रह गर्न हुन्छभने आज किन गर्न हुँदैन ? उनले प्रश्न गरे । अहिलेको संसदीय व्यवस्थामा कम्युनिष्ट हौँ भन्नेहरुले पूँजीवादको सेवा गरिरहेको विषय देख्दा लज्जाको विषय भएको विप्लवको भनाई थियो ।