काठमाडौँ। नेपाली कांग्रेसक युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार खर्चबारे प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने बताएपछि थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
थापाले , २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, भन्ने व्यवस्था रहेको स्मरण गराएका छन् । उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’
थापाले खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको भन्दै उनीसँग संसदमा सँगै काम गर्न आफूहरु प्रतिक्षारत रहेको बताएका छन् ।
उनलाई उपचारका लागि सहयोग जरुरत नै परेको खण्डमा देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको उल्लेख गर्दै बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’
थापाले अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी देउवा सरकारले बोक्ने छैन भन्नेतर्फ सचेत पनि गराएका छन् ।
पूर्व-प्रधानमन्त्री खनाल केही सातादेखि मिर्गौलालगायत समस्याले गर्दा दिल्लीमा उपचाररत छन्।