• मंसिर ११ २०८१, मंगलवार

शिक्षण पेशामा बस्नेत सरका आठ किस्सा

श्रावण ५ २०७८, मंगलवार

काठमाडौँ। सबै मानिसको जीवनमा विभिन्न रोमाञ्चकारी क्षणहरु आएका हुन्छन् । मानिसले जीवन धान्नलाई आफ्नो जीवनमा विभिन्न पेशा व्यवसाय वा उद्योग धन्दाहरुमा जोडिनु पर्ने हुन्छ । अथवा त्यस्ता विभिन्न पेशा व्यवसाय उद्योग धन्दाहरु मानिसले जीवनमा संचालन गर्नुपर्ने हुन्छ । एउटै स्थानमा बसेर मानिसलाई मात्रै होइन सम्पूर्ण पशु जगतलाई नै पुग्दैन । त्यसकारण जीवनका आवश्यकताहरु पुरा गर्न मानिसले एकठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन्छ ।

त्यही जीवनका विभिन्न आवश्यकताहरु पुरा गर्न एक ठाउँबाट अर्को ठाउँमा जाँदा आउने र भोगिने क्षणहरुमध्ये केही क्षणहरु, भोगाई एउटाको भएपनि सार्वजनिक भएका उसका जीवनका किस्साहरु आम मानिसको लागि प्रेरणा तथा हौसला र उत्साहको विषय समेत बन्न सक्छन् । त्यस्तै कसैको लागि प्रेरणा, हौसला र उत्साह बन्न सक्ने एक शिक्षकका किस्साहरु आज हामि तपाईं माझ पस्कने जमर्को गर्दैछौं ।

सल्यानमा जन्मिएका राजेन्द्रबहादुर बस्नेत सल्यान र दाङ्गका विभिन्न विद्यालयहरुमा ३५ वर्ष शिक्षण पेशामा सेवा गरेर हाल सेवा निवृत्त भएका छन् । तत्कालिन समयमा निकै नै कलिलो उमेरमा २०३२ सालमा एसएलसी दिएर शिक्षण पेशामा होमिएका बस्नेतले आफ्नो शिक्षण पेशाको क्रममा आफ्नो उमेरकाबारे झेल्नु परेका, भोगेका र संगालेका अनुभवहरु कम्ति रमाइला छैनन् । आउनुस्, एक दक्ष शिक्षक बस्नेतले शिक्षण पेशाको क्रममा संगालेका केही अनुभवहरु जानकारी लिऔं ।

बस्नेत सरका शिक्षण पेशाका आठ किस्सा

१) राजेन्द्र बहादुर बस्नेत १६ वर्षको हुँदा प्रमाणपत्र तहको प्रवेश परीक्षा दिनजाँदा बस्नेतलाई धेरैले सोधेका थिए, तिमी कति वर्ष को भयौ ? भनेर उनले म १६ वर्षको भए भन्दा धेरैले पत्याएनन् । किनकि त्यो समयमा १६ वर्षको केटोले प्रमाणपत्र तहमा पढ्न जानु सानो कुरा थिएन र त्यो समयमा अरु मानिसहरुलाई त्यो पत्याउन गाह्रो भयो । उनलाई सानो भएकै कारण हेप्न खोज्ने ठूलो शरीर भएका कतिपयले त उनलाई जिउ नमोटाएर सानो देखिएको, उमेर लुकाएको पनि भने । उनीसँग प्रवेश परीक्षा दिएका ७२ जनामा ३५ जनामात्र पास हुन सफल भएभने पास भएका पनि धेरै साथीहरुले पटक पटक उनको उमेर सोध्ने र विश्वास नगर्ने कुरा चलिरह्यो । उनले महेन्द्र बहुमुखी क्याम्पस दाङ्ग घोराहीबाट प्रमाणपत्र तह पास गरुञ्जेल सबैमाझ उनको उमेरबारे छलफल चलिरह्यो ।

२) उनी १८ वर्षको हुँदा स्नातक तहमा भर्ना भएपछि उनको पढाइको बारेमा थाहा नहुने कसैले उनको दुब्लो पातलो जिउ र कमलो अनुहार हेरेर उनले प्रमाणपत्र तह पास गरेको समेत पत्याएनन् ।

३) रोचक कुरा त यो छ कि जब २० वर्षमै स्नातक तह पास गरेर उनी पहिलो पटक माध्यमिक तहको शिक्षक भएर जाँदा कक्षा १०का सबैजसो विद्यार्थीहरु उनी भन्दा ठूला जिउका थिए । त्यतिबेला अग्रज शिक्षकको सिको गरी कक्षाकोठामा लिएर गएको छडी सन्दर्भहीन मात्र होइन त्यसैले उनलाई गिज्याए झैं लाग्यो र अफिसमा आएर कक्षा १०का विद्यार्थीको भर्ना रेकर्ड हेर्दा २३ जना विद्यार्थीमा एकजना बाहेक सबैको उमेर उनको भन्दा बढी भेटियो । आफूभन्दा ठूला (जेठा) मानिसहरुलाई पनि कसरी छडीले कुट्नु ? भन्ने सोचेर त्यो दिनदेखि कक्षामा उनले छडी लिएर जाने कुरा चटक्कै छोडिदिए । त्यसपछि क्रमसः सो विद्यालयमा छडीको काम विस्तारै घट्दै गयो ।

४) बस्नेत माविको सरकारी स्थायी शिक्षक भइसक्दापनि विद्यालयमा पढ्ने विद्यार्थी जस्तै कलिलो देखिन्थे । उनले पहिलो पटक भेटहुने मानिससँग परिचयको क्रममा आफूले आफैलाई शिक्षक हुँ भन्दा प्रायः सबै जसको जिज्ञासा हुन्थ्यो । प्रावि तहको ? उनले आफू मावि तहको शिक्षक हुँ भन्दा परिचय गर्नेहरुले अविश्वसनीय तरिकाले उनको खुट्टादेखि टाउकोसम्म हेरेर चुप लाग्थे ।

५) बस्नेत एउटा माध्यमिक विद्यालयबाट अर्को विद्यालय प्रधानाध्यापकको रुपमा सरुवा भएर जाँदा पहिलो परिचयको क्रममा अरुसबै शिक्षकहरुको पहिलो जिज्ञासा उनको उमेर थियो । दोस्रो जिज्ञासा विवाह भएको छ कि छैन भन्ने थियो । शिक्षकमात्र नभएर नयाँ विद्यालयमा विद्यार्थीहरु पनि उनको बारेमा यिनै २ कुरामा जिज्ञासु थिए तर उनको जवाफमा धेरैले विश्वास गरेका थिएनन् । एक महिना पछि उनी श्रीमती र दुई छोराछोरी सहित जाँदा दोश्रो जिज्ञासा त सबैको शान्त भएको थियो तर पहिलो जिज्ञासाको उत्तरमा मानिसहरु विश्वस्त भएजस्तो उनलाई लागेन ।

६) शिक्षक बस्नेतको अर्को एउटा रोचक प्रसङ्ग केछ भने उनी सरुवा भएर आफ्नो जिल्लाको अर्को विद्यालयमा आएपछि सहरी क्षेत्रमा एउटा घर किन्ने अवस्था आयो, नजिकै एकजना उनका अग्रज पुराना निमावि तहका शिक्षकको घर थियो । उनका युवती छोरीहरु र श्रीमतीहरू उनको घरमा आउने जानेक्रम बढेछ । एकदिन अग्रज पुराना निमावि तहका शिक्षककी छोरीले बस्नेतकी श्रीमतीसँग सर कुन तहको शिक्षक हुनुहुन्छ ? भनेर सोधिछन् । उनको श्रीमतीले मावितह भन्दा हैनन् होला प्रावि तह होला तपाईंले ढाँट्नु भयो भनेर गईछन् । त्यसको भोलीपल्ट ती छोरीले आफ्ना बुवासँग सोधेर पनि कुरा थाहा पाइछिन अनि शिक्षक बस्नेतको श्रीमतीसँग अघिल्लो दिन कुरा नपत्याएकोमा माफी समेत मागेकी रहिछिन् । सायद ती छोरीले पनि आफ्नो बाबाको भन्दा आधा पनि नपुग्ने बस्नेत सरको शरीरको कारण यस्तो अड्कल गरिन होला ।

७) बस्नेत सरले जीवनमा संगालेको अर्को अलि फरक र रोचक प्रसङ्ग पनि छ । एकजना छिमेकी गाँउको लगभग उनकै उमेरको मान्छे उनले २० वर्षको उमेरमा बि.ए पास गरेकै बेला एसएलसी पास गरेका थिए । भर्खर एसएलसी पास गरेका उनले बस्नेत सरलाई बडो आदरपूर्वक नमस्कार गर्थे र सधै विनम्रताभाव देखाउँथे । पछि एउटै सहर कर्मथलो बन्दा जति पटक भेट भए त्यति नै पटक हजुर त्यो जमानाको । हामी हजुरको अगाडि केटाकेटी भन्थे । धेरै पटक यो कुरा दोहोर्याए पछि बस्नेत सरलाई पनि उनको उमेर जान्न मन लाग्यो र बीचसहरमा केही साथिहरुबीच उनले त्यही कुरा दोहोर्याए पछि बस्नेत सरले उनको उमेर सोधे उनको उमेर बस्नेत सरको भन्दा केही महिना बढी रहेछ । त्यसदिन देखि उनले उमेरका कुरा एकपल्ट पनि दोहोर्याएका छैनन् तर दाजु भनेर पनि बस्नेत सरलाई आदरभाव देखाउन छोडेका छैनन् ।

८) अर्को रोचक प्रशङ्ग : बस्नेत सरका एकजना विद्यार्थीले बस्नेत सरलाई सधैं ‘हजुर त धेरै वर्षको हुनुभयो होला है सर, मलाई पढाउनु भएको अझै हामी जस्तै देखिनु हुन्छ’ भनिरहन्थे बस्नेत सरले हाँसेर छोड्थे । सधैं त्यही कुरा दोहोर्याए पछि बस्नेत सरले ती विद्यार्थीलाई भने तिमि कति वर्षका भयौं ? तिम्रो जन्म कति सालको हो ? ती विद्यार्थीले शिक्षकसँग झुटो बोल्न सक्दैनथे । उत्तर पाउदा ती विद्यार्थी बस्नेत सरभन्दा २ वर्ष मात्र कम उमेरको देखिएपछि ती विद्यार्थीले बल्ल सर र आफ्नो उमेरबारे कुरा गर्न छोडे ।