चेंगिज खाँ कुनै बेलाका मंगोलियाका राजा हुन् । उनले धेरै लडाईंहरु लडेको इतिहास रहेको छ । सोही कारणले केही व्यक्तिहरुले उनलाई क्रूर विशेषता भएका व्यक्तिको रुपमा पनि चिन्दछन् ।
उनको जन्म सन ११६२ मा र मृत्यु १८ अगस्ट १२२७ मा भएको मानिन्छ ।
(जो हतियारसँग खेल्छ, ऊ हतियारबाटै मर्छ । हो उनी हतियार चलाउँथे । हतियारसँग खेल्थे । उनी रगतसँग पनि खेल्थे । रगत नै बगाउँथे । उनी युद्धमा बाँचे, युद्धमै हुर्के, युद्ध गरे । उनी अर्थात युद्ध उन्मादी थिए । हो उनको मृत्यु पनि त्यही युद्धकै कारण भयो । युद्धकै क्रममा उनी मरे ।)
युद्ध बाँच्ने, युद्ध पढ्ने, युद्ध खेल्ने अनि युद्धकै कारण सिल्टिमुर खाने ती व्यक्ति हुन्, चेंगिज खाँ । भनिन्छ, उनको जन्म पालभित्र भएको थियो । जसको कुनै थातबास थिएन ।
यो पनि भनिन्छ, उनी जन्मँदा नै हातमा रगतको दाग थियो । उनका बाबु पनि बहादुर लडाकु थिए । उनको सुरुको नाम तेमुलिन थियो । उनी तेह्र वर्षको हुँदा नै उनका बाबुको मृत्यु भयो ।
उनले कहिल्यै पढ्न लेख्न सिकेनन् । चेंगिज खाँको अर्थ हुन्छ ‘सिपालु लडाकू’ । उनी आफ्नो नामजस्तै थिए । नामजस्तै भए र रक्तपिपासु बने । लाखौँ मान्छे मारे, उनी एक नुम्बरका अन्धविश्वासी पनि थिए । उनी मङगोलियन समूहको नेता बने अनि त्यसको नेतृत्व गरे ।
उनी आफ्नो प्रभुत्व जमाउन चाहन्थे तर उनलाई रिस गर्नेहरुले उनलाई आँखाको कसिङगर सम्झे र मर्ने प्रयास गरे । उनी भागे र भोकभोकै जंगल पसे । उनलाई दुश्मनले बाँधे तर सबैजना खान व्यस्त भएको मौका पारी डोरी फुकालेर सबैलाई ढाले र कुलेलम ठोके ।
खोलैखोला र भीरपाखा हुँदै उनी ज्यान जोगाउँदै भागे । उनको निम्ति हार भन्ने शब्द नै थिएन । उनी युद्धमै बाँचे, युद्ध नै की लडे । उनी बडो पराक्रमी थिए । उनका सैनिकहरु उनीप्रति निकै वफादार थिए । त्यसैले उनी चाँडै नाइके वा सरदार बने । उनले मंगोलियामा मंगोल उलुस कविला जाति जन्माए । उनले घोडचढी सेना पनि तयार गरे ।
उनले आफ्ना पिताका साथी तुकरल खाँलाई समेत खत्तम गरे । त्यसपछि आफ्नै साथी जमुगालाई मारे । अनि उनी समस्त मंगोलका सम्राट बने । उनी बडो शक्तिशाली थिए । सम्पूर्ण एसियामा उनले कब्जा जमाए । एसियाको नयाँ कानुन बनाए ।
सेनालाई तालिम दिए अनि देश जित्न हिँडे । यसक्रममा सन् १२१५ मा पेकिङ कब्जा गरे अनि पश्चिमतिर बढे । त्यसअघि उनले चीनको कमजोरी पत्ता लगाई त्यहाँको भूगोल समेत अध्ययन गरेका थिए ।
उनले चीन, पर्सिया, अफगानिस्थान र रुससम्मको पश्चिम एसियाको ठूलो भाग जिते । उनको शक्ति देखेर कोही त लुत्रुक्क परेर आत्मासमर्पण गर्थे । तुर्किस्तानका वादशाहले आफ्ना दुतलाई मारेको झोंकमा उनले तुर्किस्तानलाई तहसनहस पारे । उनी सैनिकहरुमा आँट भर्थे । हिम्मतिला बनाउँथे र साहसी बनाउँथे । उनले मंगोल जातिलाई अरुभन्दा शक्तिशाली बनाए । उनी लड्नमा खप्पिस थिए ।
शत्रु एकातिर जम्मा हुन्थे, उनी अर्कोतिरबाट आक्रमण गर्थे । झुठो प्रचार गरेर जित्थे, जासुसी गर्न लगाउँथे । शत्रु देशका जनतालाई भडकाउँथे । अनि फाटो ल्याई आक्रमण गर्थे । उनी एक नम्बरका कुटिल चालवाज थिए । उनी तातोचिसो मान्दैनथे । भोकप्यास भन्दैनथे ।
भीरपाखा, डाँडाकाडाँ जंगल सबै ठाउँ कुँद्थे । उनलाई जित्न सक्ने कोही भएन । उनले आफ्नो पराक्रमलाई शिखरमा पुर्याए । जसका कारण कुब्ला खाँ जस्ता नाति तयार गरे । उनी दुश्मनलाई जित्नु र लखेट्नु अनि घरबार बिगार्नु र सम्पति खोस्नुलाई जिन्दगीको मज्जा सम्झन्थे ।
उनी घोडालाई प्रेम गर्थे । सिकार खेल्थे तर उनी अत्याचारी थिए । उनले युद्धमा गरेका कुकुत्यको लेखाजोखा नै थिएन । रगतको खोलो बगाउँथे र लुट्थे । उनले आफ्नै भाई मारे र साथी काटे । उनले शहर भस्म पारे र शत्रु डढाए ।
उनी विलासी थिए । स्वास्नी मात्रै चारजना थिए । रखौटी त कति कति ! उनी वरिपरी सुन्दरीद्वरा घेरिएर बस्थे । सुन्दरीहरु बाजा बजाउँथे र नाच्थे । हुँदाहुँदै लडाईंमा समेत स्वास्नी लिएर हिँड्थे तर उनी रक्सी भने पिउँदैनथे ।
सन १२२७ मा उत्तर चीनमा युद्ध गर्ने क्रममा उनी घोडाबाट लडेर मरे ।
सैनिकहरुले उनको लास पहाड, पर्वत मरुभूमि, खोलानाला पार गरेर मंगोलियासम्म ल्याइ पुराए । उनीहरुले बाटोमा भेटेजतिलाई मारे । उनको लाससँगै थुप्रै खजाना राखे । अहिलेसम्म उनको लास कहाँ गाडिएको थियो अत्तोपत्तो छैन । यतिसम्म कि गोप्यता भंग गर्छन् भनेर मलामी गएर फर्केका सैनिकलाई समेत मारियो ।
श्यामकृष्ण खुलिमुलीद्वारा संकलित ‘संसारका चर्चित व्यक्तित्वहरु’ पुस्तकबाट ।