काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुजी पन्तले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा लगाएर पार्टी जुटाउन खोजेको कि फुटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
नेता पन्तले फेसबुकमा लेखेका छन्, ‘चौबीस घण्टे स्पष्टीकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूद्ध नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन?’
त्यस्तै पार्टी अध्यक्ष आफैले जथाभावी गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र व्यवहार नदेखाउन आग्रह गर्दै उनले भनेका छन् , ‘मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौं ।’
सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै नारा जुलुस गर्दा समेत सुवास नेम्बाङ र अग्नि खरेलले कार्यकर्तालाई अनुमति दिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्।
‘सर्वोच्च अदालतको फैसला विरूद्ध नारा जुलुस गर्ने र प्रावधानन्यायाधीशविरूद्ध नारा लगाउँदै उनको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय व्यवस्था मन्त्री भइसकेका र कानून व्यवसायी समेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिन सकेका?’भन्दै उनले प्रश्न गरेका छन्। ‘आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला।’
सडकमा रमिता देखाएर पुतला जलाउने र नारा लगाउने कामले एमालेको मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको उनको भनाइ छ।