काठमाडौं । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ । जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ ।’
कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन् । पार्टी कार्यालयको मुल गेटमा उनीहरू धर्नामा छन् । यस्तै देउवाले पार्टी कार्यालयमै बैठकहरू राख्नुपर्ने अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी बताउँछन् ।
‘सभापतिज्यू पार्टी कार्यालयमै बैठक राखिदिनुस्,’ भण्डारीले भने, ‘पार्टी कार्यकर्तालाई बालुवाटारमा नबोलाउने बरु सातामा एक दिन पार्टी कार्यालयमा गएर भेट्ने गरे कति राम्रो हुने थियो ।’