• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री जी त परमादेशले बनेको हो, जनताको आदेशले होइन : महन्थ ठाकुर

श्रावण ३ २०७८, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शेर बहादुर देउवा जनताको आदेशले नभई परमादेशले प्रधानमन्त्री बनेको बताएका छन् ।

विश्वासको मतको पक्षमा मत दिने घोषणा गर्दै उहाँले आफूहरु घायल अवस्थामा रहेपनि देउवालाई विश्वासको मत दिने बताए ।

आफूहरुलाई सत्ता पाउने बेलामा मात्रै सम्झिने गरिएको भन्दै उनले भने ‘मत त उहाँलाई दिन्छौँ, तर यो सत्तासंघर्ष, जो प्रताडित समाज छ, जो आम जनता छ, त्यसले केही पाउने होइन । प्रधानमन्त्री जी त परमादेशले बनेको हो, जनताको आदेशले होइन ।’

उनले  अघि भने, ‘यो संविधानको जति गुन गाउनुस, यो संविधानले गर्दा हामीले गोली खानु परेको छ, सहीद हुनुपरेको छ, अहिले पनि हाम्रा साथीहरु जेलमा हुनुपरेको छ, रेशम चौधरी जेलमा हुनुहुन्छ, जो घट्नास्थलमै हुनुहुन्थेन ।’

यो संविधानबाट आफूहरुले कहिल्यै केही पनि नपाएको भन्दै उहाँले आफूहरुका मागहरुमा सदैव अडिग रहेको समेत बताए ।

मत दिन आग्रह गर्दै देउवाले पत्र नै लेखेको कारण मत दिन लागेको उहाँको भनाई छ । ‘हामी सर्वाेच्चको सम्मान गर्छौं तर नागरिकता सम्बन्धी जुन अध्यादेशले अवरोध पाएको छ, त्यसमा म के निवेदन गर्छु, नागरिकता दिने कर्तवय राज्यको को हो, तर जसको पासमा नागरिकता छैन त्यसको के ? के राष्ट्रियताको निर्धारण पनि अदालतले नै गर्ने हो ? राज्यले नै गर्ने हो ?’, उनले भने ।

राष्ट्रियताको निर्धारण न राज्यको न त अदालतको हातमा हुने उहाँको भनाई छ ।