काठमाडौँ। नेकपा एमालेका नेता वामदेव गौतमले नेता भीम रावलको राजीनामा अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् ।आइतबार प्रतिनिधि सभा बैठकमा सहभागी हुनुअघि सांसद रावलले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका थिए।
आइतबार राष्ट्रिय सभा बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका गौतमले अहिलेको अवस्थामा रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको तर्क गरेका हुन् ।
संविधानको धारा ७६को उपधारा ५ अनुसारको सरकार गठनका बेला सरकारको पक्षमा वा विपक्षमा मत दिने वा नदिने भन्ने विषय सांसदको स्वविवेकीय अधिकार भएको भनेर सर्वोच्च अदालतले व्याख्या गरिसकेको अवस्थामा रावलको राजीनामा अनुपयुक्त भएको उनको तर्क थियो ।
‘रावलजीले राजीनामा दिनुभयो। त्यो उहाँको स्वविवेक हो। तर, पार्टीको निर्णय (विश्वासको मत नदिने निर्देशन) मान्ने हो भने उहाँले मत नदिए पनि हुन्थ्यो। पार्टीको निर्णय नमान्ने हो भने सर्वोच्चले धारा ७६(५)मा सांसदलाई स्वविवेकीय निर्णय गर्ने अधिकार दिएको छ, त्यसमा अडिग भएको भए पनि हुन्थ्यो। सांसदबाट राजीनामा दिने उहाँको निर्णय यस हिसाबले अनुपयुक्त हो’, उनले भने, ‘उहाँले राजीनामा नदिइ पनि आफ्नो विवेकमा अडिग रहन सक्नुहुन्थ्यो।’
नेता रावलले आजै सांसद पदबाट राजीनामा दिएका थिए।