काठमाडौं । पछिल्लो समय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले ओली समूहबाहेक अन्य कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरणका लागि चासो देखाएका छन् ।
यसअघि केपी ओली र प्रचण्डको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदर र तत्कालिन दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँत्याइ दिएको छ । त्यसयता माओवादी केन्द्र लगायतका अन्य कम्युनिस्ट घटकहरूसँग ध्रुवीकरण गर्नुपर्ने भन्दै प्रचण्डले चासो देखाएका हुन् ।
प्रचण्डले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको अनौपचारिक भेटवार्ता र छलफललाई तीव्रता दिएको स्रोत बताउँछ । स्रोतका अनुसार, ‘नेकपा बदरको फैसला भए पश्चात् उनी कम्युनिस्ट घटकसँग निरन्तर छलफलमा रहेका छन् । छलफलका क्रममा प्रचण्डले अधिकांश शीर्ष नेतासँग अनौपचारिक भेटवार्ता र छलफल गरिसकेका छन् । यद्यपि केही नेता ध्रुवीकरणप्रति सकारात्मक भएपनि केहीले भने चासो देखाएका छैनन् ।’
ध्रवीकरणका लागि विशेषतः एमाले असन्तुष्ट माधवकुमार नेपाल समूहलाई जोड दिएको बुझिएको छ । प्रचण्डले अगाडि सारेको पार्टी ध्रुवीकरणप्रति नेपाल सकारात्मक रहेको उनीनिकट एक नेता बताउँछन् । उनका अनुसार, एमाले अध्यक्ष ओली कमरेडले पार्टीभित्र निषेधको परिस्थिति सृजना गरेको हुनाले हामी बाध्य भएर पनि अन्य पार्टीसँग ध्रुवीकरण गने वा के गर्ने भन्ने पक्षमा उभिएका छौँ । ध्रुवीकरणप्रति हाम्रो पक्षका अधिकांश कमरेडहरू सकारात्मक नै हुनुहुन्छ । तर, अन्य केही साथीहरूले दोमन गरिरहनु भएको छ । पार्टीभित्र निशेष गर्ने, पार्टी एकताको १० बुँदे सहमति कार्यान्वयन नगर्ने, पार्टीगत तथा संस्थागत सार्वजनिक कार्यक्रममा अशोभनीय अभिव्यक्ति दिने शैलीका कारण हामी ओलीसँग मिलेर जानसक्ने अवस्था छैन । यसका लागि हामी विकल्पको खोजीमा छौँ ।’
त्यसैगरी यसअघि प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईसँग अनौपचारिक भेटवार्ता र छलफल गरिसकेका छन् । छलफलका क्रममा विगतमा भए गरेका गल्ती कमजोरीलाई सच्याउँदै कम्युनिस्ट घटकहरू एक हुनुपर्ने बताइएको छ । त्यसका लागि आन्तरिक गृहकार्य समेत सुरु भैसकेको प्रचण्डनिकट स्रोत बताउँछ । स्रोतले बताए अनुसार, ‘हामी टुटफुट नभएर सबै कम्युनिस्ट पार्टीहरू एकताको सूत्रमा बाँधिनु आजको आवश्यकता हो । यो अवश्यकतालाई मध्यनजर गर्दै हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड लागिपर्नु भएको छ । एकदिन यसले एकताको आकार लिनेछ ।’
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पनि प्रचण्डको भेटवार्ता भएको छ । गत असार ३१ गते प्रचण्ड, नेपाल र विप्लवले संयुक्त भेटवार्ता र छलफल गरेका छन् । भेटवार्ता मूलतः विप्लवले सरकारसँग गरेको ३ बुँदे वार्ता सम्झौता कार्यान्वयन र एकताको सन्दर्भमा भएको बताइएको छ । विप्लव र प्रचण्डको झन्डै पाँच वर्षको अन्तरालपछि भेटवार्ता भएको छ । भेटका क्रममा उनले प्रचण्ड पत्नी सीता दाहालसँग पनि भेट गरेका थिए । सीता विगत केही वर्षयता अस्वस्थ छिन् । यद्यपि प्रचण्डले कम्युनिस्ट घटकका शीर्ष नेताहरूसँग गरेको भेटवार्ता र छलफललाई निकै महत्वका साथ हेरिएको छ ।
पछिल्लो केही महिनायता काँग्रेस, माओवादी केन्द्र, जसपा र एमाले वरिष्ठ नेता नेपाल समूहले विपक्षी गठबन्धन गरेका छन् । जेठ ७ गते मध्यराति संसद विघटन भए पश्चात जेठ १० गते एमाले नेपाल समूहका सांसदहरूले विपक्षी गठबन्धनका नेता तथा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग राख्दै सर्वोच्चमा हस्ताक्षरसहित रिट दर्ता गराएका थिए । काँग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र–बाबुराम) र एमाले वरिष्ठ नेता नेपाल समूहका सांसदसहित १४६ जनाले हस्ताक्षरसहित रिट दर्ता गराएका थिए ।
ओली सर्वोच्चको आदेश आउनुभन्दा पहिले नै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका नेपाल समूहका २३ जना सांसदको हस्ताक्षर फिर्ता गराउन चहान्थे । तर, सर्वोच्चको फैसला अघिसम्म न्यायालयलाई प्रभावित पार्ने कुनै पनि निर्णय नगर्ने नेता नेपालको अडान कदापि फेरिएन । त्यसपछि ओली सत्ताच्युत हुनपुगे । यो घटनाले पनि प्रचण्ड नेपालको ध्रुवीकरणको सम्भावनालाई थप बलियो बनाएको छ ।
सर्वोच्चको फैसलाले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै उक्त निर्णयलाई बदर गरि संविधानको धारा ७६ को ५ अनुसार काँग्रेस सभापति देउवालाई प्रधानमान्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो । सोही जारी परमादेश अनुसार उनी गत असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भैसकेका छन् ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र त्यसले पारेको प्रभावका कारण राजनीतिक वृत्तमा उछाल आएको छ । उक्त उछालबाट सबैभन्दा बढी एमाले प्रभावित छ भने त्यसबाट काँग्रेस र माओवादी केन्द्र लगायत जसपा पनि अछुतो छैन । यसको दोषी एमाले अध्यक्ष केपी शर्मा ओली भएको काँग्रेस, माओवादी केन्द्र, जसपा र एमाले नेपाल समूहले आरोप लगाएको छ ।