काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकमा देउवा सरकारसंग समान हैसियतामा मन्त्रालय बाँडफाँडको माग गरिएको छ ।
शनिबार बसेको यादव समूहको बैठकमा देउवा सरकारमा सहभागी दलहरुबीच समान हैसियतामा मन्त्रालय बाँडफाँड हुनुपर्ने माग राखिएको हो ।
नेताहरुले सरकारमा जति दल सहभागी भए पनि समान हैसियतमा मन्त्रालय बाँडफाँड हुनुपर्ने धारणा राखेका हुन् ।
देउवा सरकारमा हाल नेपाली कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बनेका छन् भने जसपाबाट मन्त्री बनेका छैनन् । राजमो पार्टी भने सरकारमा सहभागी नहुने भनिसकेको छ ।
देउवा सरकार बन्नुअघि दुई समूहमा विभाजित जसपाको ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा ओली नेतृत्वको सरकारलाई साथ दिएको थियो । तर, यादव समूहले भने त्यसको विपक्षमा रहेर कांग्रेस, माओवादी र राजमोसँग मिलेर सर्वाेच्च अदालतमा मुद्धा दायर गरेको थियो ।