बेलायत । बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदलाई कोरोना पुष्टी भएको छ ।
कोरोना पोजिटिभ भएपछि उनी घरमै आइसोलेशनमा बसेका बताइएको छ ।
कोरोनाविरुद्धको दुबै डोज खोप लगाइसकेका उनको अवस्था सामान्य रहेको बताइएको छ । बेलायतमा जारी लकडाउन पूर्ण रुपमा खोल्न दुई दिन मात्र बाँकी रहँदा स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
आफूलाई कोरोना पोजिटिभ भएको उनले भिडियो मार्फत सन्देश दिएका छन् । बेलायतमा हाल कोरोना संक्रमणको तेस्रो लहर शुरु भएको छ । शुक्रबार एकैदिन करिब ५२ हजार जना संक्रमित भएका थिए । संक्रमित संख्या दैनिक एक लाखसम्म पुग्नसक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो सोमबारबाट इङ्ग्ल्यान्डमा हाल लागू भएको लकडाउन सम्बन्धी सम्पूर्ण कानूनी प्रावधान अन्त्य गरिने घोषणा गरिसकेका छन् ।