काठमाडौं । अन्तरिक्षको भित्रि भागमा धेरै सैन्य भूउपग्रहहरु राखिसकेको अमेरिकाले अब अन्तरिक्षमा चीन र रुषको उपस्थिति निगरानी गर्ने योजना बनाएको बुझिएको छ । अमेरिकाले चीन र रुषले अन्तरिक्षमा पठाएका टाढाका वस्तुहरुको निगरानी गर्न बेलायतमा एउटा ठूलो राडार प्रणाली राख्न चाहेको खुल्नमा आएको हो ।
बीबीसी लगायतका अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार अमेरिकाको अन्तरिक्ष सम्बन्धी बलले विकास गरिरहेको एउटा प्रणालीले ३६ हजार किलोमिटर परसम्मका सम्भावित संकेत र निशानालाई पहिचान गर्न सक्ने जनाइएको छ । बेलायतमा मात्रै होइन अमेरिकाले त्यस्तो प्रणाली आफ्नै देशको टेक्सास र अष्ट्रेलियामा पनि राख्ने योजना बनाएको छ ।
अमेरिकाले किन राख्न चाहन्छ त यस्तो प्रणाली ?
हुन त अमेरिकाले मात्रै होइन चीन, रुष लगायतका धेरै देशहरुले अन्तरिक्षमा आआफ्ना भूउपग्रहहरु राखी सकेका छन् । अन्तरिक्षमा भूउपग्रहहरु धेरै हुँदा भीडभाड बढनुका साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको चर्चा चलिरहँदा अमेरिकाको यस्तो चाहना बाहिरिएको हो । अमेरिकाको रक्षा मन्त्रालयका अनुसार उसको नयाँ राडारको क्षमताले अन्तरिक्षलाई बढी सुरक्षित गराउने छ ।
बीबीसीका अनुसार अमेरिका र बेलायतले रुष र चीनका भूउपग्रहलाई हानी गर्नसक्ने हतियार विकास गरिरहेको आरोप लगाँउछन् । उता रुष र चीन भने कसैलाई केही आरोप लगाउँदैनन् र खुरुखुरु आफ्नो विकास गरिरहन्छन् । सन् २०२० मा मात्रै एक हजार भन्दा बढी नयाँ भूउपग्रहहरु अन्तरिक्षमा प्रक्षेपण गरिएका थिए ।
प्रक्षेपण गरिएका एक हजारमध्ये १० वटा भूउपग्रह अमेरिकाका थिए । अमेरिकाका अधिकारीहरुले क्यालिफोर्नियाको उनीहरुको मिसाइल सिस्टम केन्द्रमा इलोन मस्कको अन्तरिक्ष यात्रा कम्पनी स्पेस एक्ससँग पटक पटक बैठक गर्ने गरेका छन् ।
अमेरिकाका अन्तरिक्ष बलका लेफ्टिनेन्ट कर्णेल ज्याक वालाकरले अमेरिकाले यस्ता राडारहरु स्कटल्याण्ड वा त्यो भन्दा दक्षिण तर्फ राख्नेबारे बेलायतसँग छलफल गरिरहेको बताएका छन् । उनले आफ्नो राडार प्रणालीका लागि एक वर्ग किलोमिटरको क्षेत्रफल चाहिने बताए ।