प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ। शनिबार माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णले राज्यमन्त्रीमा शपथ लिएका हुन् ।
मन्त्री साहलाई प्रदेश प्रमुख डा. राजेश अहिराजले र राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
माओवादी केन्द्र सरकारमा जाने भएपछि सत्तारुढ दलकै दुई जना मन्त्रीले राजीनामा दिएका थिए । आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका हुन् । शनिबारै मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरेका थिए ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गएको जेठ २६ गते नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।