धागो चुँडिएका चङ्गाहरुलाई एकतृत गर्न धेरै जटिल छ
तेल सिद्धिएका दियोहरुमा सँधै तेल थपेर बाल्न पनि कठिन छ
ब्याट्री ड्यामेज भएका यन्त्रहरुलाई
ब्याट्री वा यन्त्र फेरेर पनि चलाउन अत्यन्त मुस्किल छ
यस्ता म्याद सकिएका र इञ्जन मक्किएका यन्त्र–संयन्त्रहरुलाई त
कवाडीखानामै बेच्न समेत दुसाध्य छ
तैपनि जतिसुकै जटिल, कठिन र मुस्किल, दुसाध्य भए पनि
यसो नगरी हुँदै नहुने भएको छ,
कि भने यी सबैलाई डम्पिङ साइटमा नफाली हुँदै नहुने भएको छ
चेत हराएका नेताहरुलाई होशमा ल्याउन पनि झन अति गाह्रो छ
नियत हराएका कार्यकर्ताहरुलाई पनि
जोसमा ल्याउन पनि त्यस्तै अति नै साह्रो छ
तरल बनिरहेको देशको स्थितिलाई पनि
ठोसमा बदल्ने काम पनि झन् कति हो कति गाह्रो छ
अनि, ग्यास बनेको क्रान्तिको अवस्थालाई क्यास गर्ने कुरा त झन्
आकाशको फल आँखा तरी मर भन्ने जस्तो भएको छ
तैपनि जतिसुकै गाह्रोसाह्रो र असम्भव भएपनि
यी सब जसरी पनि नगरी हुँदै नहुने भएको छ ।
सास सकिएको लासलाई ब्युँझाउने उपाय भनौं त कति साध्य छ ?
भालुलाई पुराण सुनाएर उसमा ज्ञान भर्ने कुरा गुनौं त कति सम्भव छ
मरुभूमिको मृगको तृष्णा मेटाउन पनि के साँच्चै सरलै होला त ?
र सुनमा सुगन्ध थप्न पनि के साँच्चै सहज नै होला र ?
छैन, तर जतिसुकै जटिल र कठिन भए पनि
यी काम पनि फत्ते नगरी हुँदै नहुने भएको छ
कस्तुरीलाई उसको आफ्नै नाभीमा
बीना छ भन्ने सम्झाउन पनि सारै अप्ठेरो छ ।
र, बुझेर बुझ पचाउने हरामीहरुलाई
बुझाउन त झन् ज्यादै गाह्रो छ
गासको आस गर्दै भासमा भासिएकालाई उतार्नु त झन् कति हो कति जटिल छ
अझ रङ्गीन कागजमा रातो चित्र कोर्न त झन् सबभन्दा जटिल र कठिन छ
तैपनि जतिसुकै जटिल र कठिन भए पनि
गर्नै पर्ने कामकुरा त नगरी हुँदै नहुने भएको छ ।
अहिले यहाँ त पुरेतका गाईहरुलाई तह लगाउने भरपर्दो गोठालो
नभै नहुने भएको छ
मत्ता हात्तीहरुलाई वशमा ल्याउन सक्ने
सिपालु माउते पनि नभई नहुने भएको छ
जानीजानी जहाज महासागरमा डुबाउने
सन्काहा क्याप्टेनहरुलाई गलहत्याउने
साहसी यात्रु क्याप्टेन त झन् नभै नहुने भएको छ
म्याच फिक्सिङ गरी आफ्नो देशको टोलीलाई हराउने खेलघाती र
देसघाती गद्दारलाई खेलबाटै नखेदी त झन् हुँदै नहुने भएको छ
यस्ता हरामखोर गद्दारलाई देश निकाला नगरी नहुने भएको छ
हरामखोर गद्दारहरुलाई देश निकाला नगरी नहुने भएको छ ।