• फाल्गुन २४ २०८२, आईतवार

राष्ट्रपतिको हत्याबारे अनुसन्धानका लागि हाइटीको राष्ट्रपति निवासका सुरक्षाप्रमुख गिरफ्तार

श्रावण १ २०७८, शुक्रबार

हाइटी । हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुखलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न कोणबाट प्रश्नहरु गरेका एएनआईले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो । राष्ट्रपतिको हत्या गर्नेहरुले उनकी पत्नीलाई घाइते बनाएका छन् । उनको अहिले अमेरिकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा दोषी भएको आशंकामा २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रमाण र आधारहरु भेटिँदै गएको प्रहरीले जनाएको छ ।