काठमाडौँ । अफगानिस्तानमा इस्लामिक सशस्त्र समूह तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमाचौकी आफ्नो कब्जामा लिएको छ । सीमाचौकी कब्जामा लिएर आफ्नो झण्डा फहराएको तस्बिर र भिडियो तालिबानीहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा देशको कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा तालिबानीहरुको सेतो झण्डा फहराइरहेको देखिएको छ ।
तर अफगानिस्तानका सरकारी अधिकारीहरुले तालिबानीहरुले सो चौकी कब्जा गरेको कुरालाई स्वीकार गरेका छैनन् तर तालिबानीले सो सीमानाकालाई ठूलो बल प्रयोग नगरिकनै नियन्त्रणमा लिएको बताएको छ भने उसका सदस्यहरुले सीमामा पाकिस्तानी सीमा सुरक्षा बलसँग कुराकानी गरिरहेको सार्वजनिक गरेको भिडियोमा देखिन्छ ।
तालिबानीहरुले इरान, ताजिकिस्तान र तुर्केमिनिस्तानका सीमा नाकामा रहेका चौकीहरु समेत अफगानिस्तानका सरकारी फौजबाट खोसेर आफ्नो नियन्त्रणमा लिइरहेका छन । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले धामाधम सरकारी अड्डाहरु कब्जा गरिरहेको छ ।
को हुन् तालिबानीहरु ?
तालिबानी विद्रोही इस्लामिक सशस्त्र समूह हो । अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानी समूह २० वर्ष पहिले अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गरेपछि सत्ताबाट बाहिरिन बाध्य भएको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि तालिबानाले फेरि विस्तारै देश कब्जा गर्दै गाएको बुझ्न सकिन्छ ।
उसले अहिले देशका कयौं मुख्य सडकहरुलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ । तालिबानले अफगानिस्तानको कान्दाहार प्रदेशस्थित स्पिन बोल्डक र अर्कोतिर पाकिस्तानको चमन शहर रहेको कब्जा गरेको जनाएको छ । उसले कब्जामा लिएका भनिएका दुई नाका, दुई देशबीचका सबैभन्दा व्यस्त नाकाको रुपमा चिनिएका नाका हुन् ।
कान्दाहारलाई पाकिस्तानका बन्दरगाहासँग जोडने ती नाकाहुँदै दैनिक ९०० ट्रकहरु वारपार गर्ने बताइन्छ ।
ती नाकाहरुबाट तालिबानीहरुले भन्सार समेत संकलन गरिरहेको बताइएको छ ।
तालिबानका जबिहुल्लाह मुजाहिदले स्थानीयवासी र व्यापारीहरुलाई आफूहरुले सुरक्षाको ग्यारेण्टी गरेको बताएका छन् तर अफगानिस्तानका आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक एरियानले एएफपी समाचार संस्थालाई बताए अनुसार सीमा क्षेत्रमा केही गतिविधि भएको तर सरकारी सुरक्षा फौजले विद्रोहीको आक्रमणलाई निस्तेज पारेको छ ।