काठमाडौं । आज साउन १ गते । आजको दिनलाई नेपालमा साउने सक्राती पर्वकोरुपमा मनाइने गरिन्छ । नेपालका मगर, खस लगायतका आदिवासी जनजाति समुदायले यो पर्व विशेषरुपमा मनाउने गर्दै आएका छन् । त्यस्तै अन्य जातिका समुदायले पनि मनाउने गर्दछन् ।
विक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणि गोलार्थ तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामोहुँदै जाने विश्वास गरिन्छ ।
यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गतेबाट दिनछोटो हुँदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ ।
फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।
साउने संक्रान्ति किराती समुदाय बीच ‘सिसेक्पा तङ्नाम’को नामले मनाईन्छ । किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयाँ पाकेका फलफूलहरू चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानी ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् ।
पश्चिम कर्णालीको जुम्ला जुम्लातिर देउडा गीत र नाँचलाई आफ्नो विशेष साँस्कृतिक निधिको रूपमा मान्ने गरिन्छ । कर्णालीका आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरीका नराम्रा रोगव्याधीहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।
पछिपछि यो पर्व प्रायः सबै नेपालीको बन्दै गयो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आआफ्नै साँस्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौरतरिकाहरू पनि केही भिन्न छन् ।
ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरू दिन्छन् । यस्ता भिन्नता र समानताहरूलाई सही तवरले बुझ्न नसक्दा चार्डपर्वहरू र यसप्रतिका सकारात्मक सन्देश वा प्रभावहरू पनि एकापसमा बाँझिएर खप्टिन गई विरोधाभासपूर्ण तरिकाले अलमल्लमा परेजस्तो लाग्न सक्छन् । यसर्थ, अबदेखि यस्ता साँस्कृतिक महत्व राख्ने चार्डपर्वहरूप्रतिको हेराइ, बुझाइ, विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनसंरचना हुन आवश्यक छ ।
आजसम्म राष्ट्रव्यापीरूपमा आएका साउने सङ्क्रान्ति पर्वप्रतिका अभिलेख तथा सम्प्रेषणहरू केवल एउटै जाति, वर्ग र धार्मिक, साँस्कृतिक समुदायको मान्यता एवम चिन्तन विशेषमामात्र केन्द्रित छन् । अब यी र यस्ता चाडपर्वहरूलाई सबै नेपालीको साझा चाडको रूपमा विकसित गरी धार्मिक, साँस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चार माध्यमहरूले विशेष अभियानको रूपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मुल्य र मान्यताको आधारमा कसरी मानी बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ ।
नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात (च्योङ)हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरी टाँगेर झुण्ड्याउने चलन रहेको छ ।
सबै परिवार मिलेर सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठोमसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारी सबैतिर एक्कासी बन्दुकहरू पड्काइन्छ ।
थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बजाइन्छ । वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशि चक्रमध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।
यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ साँझमा कुकुर डाइनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी आदि औषधीजन्य वनस्पतिहरू जलाएर घरघरका आँगनबाट चारै दिशामा फ्याँकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ ।
लुतो फ्याक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केहिबेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।