• मंसिर ८ २०८१, शनिबार

नासाको नयाँ रकेटमा फेरि चन्द्रमामा जाँदै मानिस

असार ३१ २०७८, बिहीबार

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष निकाय नासाले छिट्टै चन्द्रमामा मानिस पुर्याउने लक्ष्यसहित शक्तिशाली रकेट पहिलोपल्ट सार्वजनिक गरेको छ । स्पेस लन्च प्रणाली सहितको ‘एसएलएस’ नामको रकेट फ्लोरिडा राज्यको केनेडी स्पेस सेन्टरमा सार्वजनिक गर्दै नासाले सन् २०२१ को अन्त्यसम्ममा ‘एसएएस’लाई पहिलो पटक प्रक्षेपण गर्ने योजना रहेको बताएको छ ।

रकेट सार्वजनिक गरेको सेन्टरमा नासाका इञ्जिनियरहरुले २१२ फिट अग्लो रकेटको मूल भागलाई दुई साना बुस्टर रकेटको बीचमा जोडेर उभ्याएर प्रदर्शन गरेका थिए । सो प्रक्षेपणको बेला ‘एसएलएस’ले ओरियन नाम दिइएको मानव यात्रा गर्ने यानलाई समेत चन्द्रमा तर्फ लिनेछ । मानव यात्रा गर्ने यानलाई लिएपनि पहिलो पल्टको सो उडानमा यात्री भने नहुने नासाका इञ्जिनियरहरुले बताएका छन् ।

चन्द्रमामा प्रक्षेपण गर्ने भनेर नासाले सार्वजनिक गरेको रकेट/तस्बिर स्रोत नासा
चन्द्रमामा प्रक्षेपण गर्ने भनेर नासाले सार्वजनिक गरेको रकेट/तस्बिर स्रोत नासा

इञ्जिनियरहरुले सन् २०२३ मा यात्रीलाई उडाउनु भन्दा पहिले रकेट र यान दुबैको परिक्षण गर्न चाहेको जानकारी दिएका छन् । ‘एसएलएस’मा चार शक्तिशाली इञ्जिनहरु रहने छन् भने दुईवटा १७७ फिट अग्ला साना बुस्टर रकेट रहने छन् । ती साना बुस्टर रकेटले जमिनबाट ‘एसएलएस’लाई परिक्षण गर्न आवश्यक शक्ति प्रदान गर्ने बताइएको छ ।

गतवर्षको नोभेम्बरमा यो रकेटका अंशहरु जोड्न थालिएको हो भने अब रकेटको निरीक्षण र सुधार गरिने नासाले बताएको छ । गत मार्चमा यस रकेटको मुख्य इन्जिनलाई आठ मिनेट चलाएर सफलतापूर्वक परिक्षण गरिएको थियो ।

यो रकेट परिक्षण, प्रक्षेपण, उडान र चन्द्रमामा अवतरणका लागि नासाले स्पेसएक्ससँग सम्झौता गरेको बताइएको छ । सन् १९७२ पछि चन्द्रमामा मानिस पुगेका छैनन् तर अब फेरि छिट्टै त्यहाँ अन्तरिक्ष यात्री पुर्याउने लक्ष्य नासाले लिएको हो ।