‘हेर, ऊ, ती पहाडहरुका श्रृङ्खला हेर । त्यसको पल्लोपट्टी छ हाम्रो आफ्नो थातथलो । जुन थलोमा हामी जन्मियौं, त्यसको सुवास हाम्रो जिउभरी छ र यहाँ हामीले पहिलो पाइला टेक्यौं, त्यो थलोले विदेशी जल्लादहरुबाट देशलाई मुक्त गर्नका लागि हजारौँ जवानहरुलाई जाऔँ, दिल्ली जाऔँ भनेर पुकार गरिरहेको छ ।’
आफ्ना फौजलाई स्वतन्त्रताको लागि अगाडी बढ्न यसरी प्रेरित गर्ने व्यक्ति हुन्, सुभाषचन्द्र बोस । उनको जन्म भारतको उडिसास्थित कटकमा एक प्रतिष्ठित परिवारमा भएको थियो । उनले पाँच वर्षको उमेरदेखि नै अंग्रेजीको अध्ययन थाले । सन् १९०९ मा उनको नगरमा हैजाको महामारी फैलिएको बेला उनले जनताको सेवा गरेका थिए ।
उनी पढाइमा अब्बल दर्जाका विद्यार्थी थिए । विद्यार्थीकालमै उनमै अंग्रेज विरुद्धको भावना जन्मिसकेको थियो । आइएससी सक्काउने बित्तिकै उनले सरकारी जागिर खाएनन् । बरु देशको स्वतन्त्रता संग्राममा लागे तर उनी शत्रुको हातमा परे । लामो समय जेलमा बित्यो । अनि ती नेताजी कहलिए । यसरी उनको नामको अगाडी नेताजी जोडिन थाल्यो ।
उनी युवावस्थामा राष्ट्रिय राजनीतिमा लागे । त्यसक्रममा राष्ट्रिय कांग्रेसमा लागे । कांग्रेसको अध्यक्ष पदको प्रत्यासी भई महात्मा गान्धीलाई समेत हराए । उनी क्रान्तिकारी विचारधाराका थिए । जसको कारण गान्धीको वैरभावको सिकार हुनुपर्यो । यिनको गान्धीसँग मतभेद भयो । बहुसंख्यक कांग्रेसीहरु पनि उनकै पक्षमा थिए ।
गान्धीको खुल्ला विरोध हुँदाहुँदै उनी दोस्रोपटक पनि अध्यक्ष पदमा चुनिए तर उनको क्रान्तिकारीपना देखेर उनलाई अनावश्यक आरोप लगाउन थालियो । अनुशासन हिनताको नाममा अध्यक्ष मात्र होइन साधारण सदस्यताबाट समेत निष्कासित गरियो । जुन कुरामा भारतीय जनतासमेत सहमत थिएनन् । त्यसपछि उनी गान्धीको अहिंसावादी संघर्षको विरोध गरेर सशस्त्र क्रान्तिमा लागे ।
दोस्रो विश्वयुद्धमा भारतलाई पनि संलग्न गराउन खोजेको बेला उनले अंग्रेज भाइसरायल्ड लिन्टीबगाको निर्णयको आलोचना गरे । नागरिक अवज्ञा आन्दोलनको उद्घोष गरे, कलाकत्तामा वृहत प्रदर्शन गरे । गान्धीको पनि जमेरै आलोचना गरे । ब्रिटीस सरकारले उनलाई जेलमा कोच्यो तर उनी आमरण अनसनमा बसे । त्यसैले सातौँ दिनमा रिहा भए । उनी देशबाहिर जान्छन् भनेर घरवरिपरी गुप्तचर तैनाथ गरियो । बैसट्ठी जना जासुसी अधिकारीले घर घेरे तर उनी आफ्नी बहिनीको सहयोगमा भेष बदलेर पाकिस्तानको सहर पेशावर पुगे ।
उनी बेपत्ता भएपछि तहल्का मच्चियो र सरकार हैरानीमा परियो । उनी भने सन् १९४१ मा मस्को गए र स्टालिनलाई भेटे । त्यसपछि फेरि जर्मनी पुगेर हिटलरलाई भेटे । हिटलरले उनको ठूलै सम्मान गरे र भारतबाट अंग्रेजलाई लखेट्नमा सहयोग गर्ने बचन दिए । उनले त्यहीँ आजाद हिन्द रेडियो स्थापना गरे र प्रसारण गर्न समेत बर्लिनमै स्वतन्त्र भारत केन्द्र स्थापना गरे ।
सन् १९४२ मा जापानमा बसेर प्रवासी भारतीयहरुको आजाद हिन्द फौज गठन गरी अंग्रेजमाथि आक्रमण गरे । सन् १९४३ देखि १९४५ सम्म युद्ध गरे तर सफल भने हुन सकेनन् । यस युद्धले गर्दा अंग्रेज झस्कियो र स्वतन्त्र भारतको बारेमा सोच्न बाध्य भयो ।
जर्मनमा उनको छद्म नाम ओलेन्डो मेजिस्ट्रा थियो । भारतीय स्वतन्त्रता संग्राममा सहयोग गरिदिने सर्तमा उनले जर्मनीलाई सहयोग गरेका थिए । उनले बेलायतको विरुद्धमा स्वतन्त्र हिन्द फोर्स गठन गरे र आक्रमण सुरु गरे । उनको नेतृत्वमा गठित उक्त फौजमा चालिसहजार सैनिक थिए ।
दोस्रो विश्वयुद्धमा उनी बेलायतलाई सहयोग नगर्ने पक्षमा थिए तर उनको प्रस्ताव अस्वीकृत भयो । उनको मृत्युको बारेमा अझै पनि विवाद छ । ताइवानको आकाशमा भएको विमान दुर्घटनामा उनको मृत्यु भएको आशंका गरिए तापनि अझै सत्य कुरा बाहिर आएको छैन ।
सशस्त्र संघर्षमार्फत स्वतन्त्र भारत निर्माणमा लागेका सुभाषचन्द्र बोसले भनेका छन्,‘तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु ।’