• असार २२ २०८१, शुक्रबार

घोराहीका बेकरी व्यवसायीमा गुणस्तरको टक्कर

असार ३१ २०७८, बिहीबार

घोराही, ३१ असार ।
दुई आकारका पाउरोटी र खस्ता उत्पादन गरेका घोराहीका व्यवसायीका बिचमा गुणस्तरको टक्कर देखिएको छ । ठूलो आकारको बनाउनेले खाँदा स्वादिलो र गुणस्तरको मात्रा बढि भनेका छन् । सानो आकारको पाउरोटी बनाउनेले त्यसलाई वाहियात भने र त्यसको प्रमाण देखाउन चुनौति दिए ।

यसरी आपसमै द्वन्द्व हुँदा उनीहरुले स्थानीय सरकारलाई उचित जवाफ दिन पनि सकेनन् । लकडाउन पछि पाउरोटीको मूल्य बढेर दश पुगेको थियो । घोराही उपमहानगरपालिकाले पाँच रुपैयाँमा बेच्दै आएको पाउरोटी खस्ताको मूल्य बढाउनुको कारण मागेको थियो । त्यसको जवाफ दिन उद्योगीहरु भेला भए ।

‘यति लामो लकडाउन चल्यो’ घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारीले भन्नुभयो, ‘यति बेलै पाउरोटी खस्ताको मूल्य बढाउनुको कारण के हो ?’ उहाँले विषय प्रवेश गराएसँगै उद्योगीहरु बिचले आफ्ना धारणा राखे । मूल्य र आकार बढाउनेहरुले गुणस्तरमा दावि गरेको जवाफलाई सानाले चुनौती दिए । सरकारका तर्फबाट धेरै बोल्नै परेन ।

‘ठूलाले जे गर्छन् त्यही गर्ने हो’ सिजन फ्रेस बेकरी मिलनचोकका सञ्चालक शान्ति बुढाथोकीले भन्नुभयो ‘धेरै बिक्दैन अलि अलि बनाएर बेच्ने हो ।’ उहाँका अनुसार अगुवाले गरेको निर्णय मान्नुहुन्छ । ठूला उद्योगले अबलम्वन गरेको बाटो पच्छ्याउँदै अघि बढेको गरिएको छ ।
‘लकडाउन अघि ३० थियो ३५ सम्म बढाऊँ भन्ने सल्लाह भयो’ गत २६ गतेको पाउरोटी व्यवसायी एसोसियसनको घोराही रोल्पाली फुडका सञ्चालक लक्ष्मी बुढाले भन्नुभयो, ‘घाटा नखाऊँ नाफामा पनि नजाउँ भनेर पाँच रुपैयाँ बढेको हो ।’ उहाँका अनुसार एउटै आकारको पाउरोटी खस्ता निकालिएको छ । मूल्य पनि उही छ । यसले कुनै समस्या ल्याएको छैन । बजारमा उपभोक्तालाई चाहिएको दिने हो । पाँचको पाउरोटी १० पुग्दा व्यापक बिरोध आएको छ ।

‘साथीहरुले बढाएर ठूलो पाउरोटी खस्ता पठाए मैले न बढाऊँ भनेकै हुँ’ जानकी पाउरोटी उद्योगका शरद थापाले भन्नुभयो, ‘यसले नराम्रो सन्देश जान्छ मैले उतिबेलै स्पष्ट भनेकै हुँ ।’ उहाँका अनुसार निर्णयलाई एकरुपताका साथ कार्यान्वयन गर्ने समस्या छ । गत बैशाख १२ गतेको बैठकले बेकरी उद्योग एकसाता बन्द गर्ने निर्णय गयो । त्यसलाई पनि सबैले कार्यान्वयनमा ल्याएनन् । न त बन्दको निर्णय गर्नेले खुल्यो भनेर औपचारिकता नै पुराउन सकेका छन् ।

‘ठूलो खानेलाई ठूलो सानो खानेलाई सानो दिन्छौँ’ जय माता दी पाउरोटी उद्योगका धर्मेन्द्रको भनाई थियो, ‘त्यो त पाउनुपर्ने हो ।’ अघिल्ला दुई जना उद्योगी भन्दा उहाँको विचार फरक थियो । उहाँ पनि ५० रुपैयाँको पाउरोटी निकाल्न चाहनुहुन्थ्यो । आकार र मूल्य बढाउने पक्षमा हुनुहुन्थ्यो । यसरी सानो र ठूलो फरक आकारका पाउरोटी निकाल्ने भन्नेमा एकमत थिएन ।

सात वर्ष अघि कोशेली बेकरी शुरु गर्दा नरेशकुमार श्रेष्ठले एक हजार आठ सय रुपैयाँमा किनेको घिउ पाँच हजार पुगेको छ । उहाँका अनुसार डिजलको मूल्य बढेको छ । मैदा दश पाँच रुपैयाँ घटबढ हुनुले फरक पार्दैन । त्यसैले पाउरोटी, खस्ता तथा डोनटको मूल्य समायोजन गर्नु अति आवश्यक छ । ठूलो आकारको पाउरोटीमा स्वाद फरक र गुणस्तर धेरै हुन्छ ।

यसरी तिनथरी विचार अभिव्यक्त भए । उद्योगीहरु बिचको अन्तरविरोध छरपस्ट बाहिर आयो । आफ्नो रोजीरोटीका लागि व्यवसाय चलाएका देखि रोजगारदाताहरुको स्तरमा उक्लिएकासम्म बेकरी उद्योगहरुमा छन् । ठूला उद्योगहरु धेरै कामदार र सेल्सम्यानहरु राखेर कारोबार गरिरहेका छन् । तिनिहरु आफ्नो ब्राण्ड स्थापित गराउन प्रतिस्पर्धामा छन् । नयाँहरु अस्तित्व स्थापनामा आउन चाहन्छन् । यसरी अनेक थरी भएकाले एउटै निर्णय पेलेर लागु गर्न नसकिने अध्यक्ष अशोक श्रेष्ठको भनाई छ । कतिको पाउरोटी नबेचे छाकै नटर्ने अवस्था पनि छ ।

त्यससँगै सेल्सम्यानको दबाव उद्योगहरुमा छ । उनीहरु बिहानभरी बेचेर उचित मुनाफा कमाउन चाहान्छन् । त्यसका लागि ठूलो आकार र बढि मूल्यको बेच्दा आफूलाई दुःख उठ्ने एक सेल्स म्यानले बताउनु भयो । उहाँका अनुसार सानो आकारको पाउरोटी खोज्न छोडे । अब १० रुपैयाकावाला पाउरोटी स्थापित भएको छ । त्यसैले उद्योगहरुले ग्राहकको माग अनुसार उत्पादन गर्नुपर्छ ।

आज प्याक गर्ने पर्सिको मिति हाल्ने जस्ता विकृति भेटिएको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेलले व्यवसायीलाई सचेत गराउनु भयो । उहाँले दुईतिन वर्षसम्म एउटै बिलको ठेली प्रयोग गर्ने, कतिपयमा सरसफाइको मापदण्ड पुरा नभएको बताउनुभयो । यसो भनिरहँदा व्यवसायीले खस्ता र पाउरोटीको म्याद कति हाल्ने जानकारी नै नभएको बताए । उनीहरुले पाउरोटी खान मिल्ने म्याद (मिति) कतिसम्म हाल्नुपर्छ भनेर सरकारसँग माग गरेका थिए ।

आफै उत्पादन गर्ने र बजार लैजान व्यवसायी छन् । घाटा खानुभन्दा लेबल निकालेर बेच्ने सेल्स म्यान रहेको बताइन्छ । एउटाबाट फिर्ता ल्याउने अर्कामा बेच्ने गरेका पनि गुनासा आएका छन् । यस्ता गतिविधिले गुणस्तरमा प्रश्न उठाएको छ । यसका लागि ग्राहक पनि चनाखो हुनु अनिवार्य छ । ताजा र बासी चिन्न सक्नुपर्छ । त्यसतो शंका लागे तुरुन्तै फिर्ता दिनुपर्छ ।

सरकारले दिएका मापदण्ड पालना नगर्ने तर एकलौटी मूल्य बढाउने अधिकार व्यवसायीलाई नभएको घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारीको भनाइ छ । उहाँका अनुसार उत्पादित र उपभोग्य मिति, मूल्य अनिवार्य राख्नुपर्ने बताउनु भयो तर, सबै उद्योगले लेवल राखेका छैनन् । यसैगरी इलाष्टिकले बाँधेर पोका बजारमा पठाउन मिल्दैन । त्यसतो फेला पारे जतिबेला पनि जफत हुन्छ । समस्या सेल्स म्यानलाई भनिँदैन ।

यस्ता अनेकौं कारणले तेस्रो पटक गरिएको खस्ता, पाउरोटीको आकार बढाउने प्रयास पनि असफल भएको छ । त्यससँगै गत २७ गतेदेखि सानो आकारका खस्ता र पाउरोटी घोराही बजारमा आएका छन् । कोभिड–१९ बाट सहज वातावरण बनेपश्चत उचित निर्णय लिने भनिएको छ । तर उद्योगहरुलाई एउटै निर्णय लागु गराउन, सेल्स म्यान मिलाउन भने सजिलो छैन । तर पनि एकरुपताकालागि समितिले निरन्तर प्रयास गरिरहेको अध्यक्ष श्रेष्ठले दावि गर्नुभयो । उद्योगीहरु बिचमै एकरुपता आउन नसकेपछि आकार र मूल्य बढाउने तेश्रो प्रयास पनि असफल भएको छ ।