• मंसिर १५ २०८१, शनिबार

देउवाको सुरक्षा बढाइयो, ओलीको घटाइयो

असार ३० २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा डीएसपी कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत थिए ।

पूर्वप्रधानमन्त्री केपी ओलीको सुरक्षामा खटिएको टोलीको संख्या चाहिँ उनी पदमुक्त भएसँगै घटाइएको छ । गृह मन्त्रालयका एक अधिकृतका अनुसार देउवाले अतिविशिष्ट श्रेणीको सुरक्षा पाउनेछन्, जसको नेतृत्व नेपाली सेनाले गर्नेछ ।

स्रोतका अनुसार देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिनेछन् । पूर्वप्रधानमन्त्री ओलीको सुरक्षाबाट चाहिँ पूर्वडीएसपी राजन लिम्बु सहितको टोली मंगलबारै फर्किएको छ । हाल प्रहरी निरीक्षक माधव केसीको नेतृत्वको टोली ओलीसँग छ ।

कानूनतः ओलीले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका कर्मचारीलाई सुरक्षार्थ राख्न पाउँछन् तर ओलीको सचिवालयले थप १५ जना प्रहरीका सुरक्षाकर्मी माग गरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

यसैबीच, पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षार्थ खटिएको टोलीको संख्या पनि बढाइएको छ । माधव नेपाल समूहको सहयोगमा देउवा प्रधानमन्त्री बनेसँगै नेता नेपालमाथि सुरक्षा खतरा बढेको आँकलन सहित सुरक्षा बढाइएको छ । देउवा प्रधानमन्त्री भएसँगै नेपाललाई एमाले कार्यकर्ताबाट थ्रेट बढेको सुरक्षा विश्लेषण छ ।