• मंसिर १५ २०८१, शनिबार

बालकोटको बाल्कोनीबाट ओलीले भने- सर्वोच्चले हामीलाई जनतामा जान नदिन असंवैधानिक फैसला गर्‍यो

असार ३० २०७८, बुधबार

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवम् निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जान नदिनका लागि अदालतले असंवैधानिक फैसला गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै राजनीतिक दल र नेताको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार अदालतले खोसेको आरोप पनि लगाए ।

“अदालतले हामीलाई जनतामा जान नदिन असंवैधानिक फैसला गर्‍यो । नेताको, सरकारको मूल्याङ्कन गर्न पाउने जनताको अधिकार खोसेर, अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कहीँ नभएको जात्रा भयो,” उनले भने ।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । “यो परिस्थितिको निर्माण माधव नेपालले गरेका हुन् । हिजो पनि शेर बहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीतल निवास पुग्नुअघि उनी नै पुगे,” ओलीले भने ।

नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उनले घोषणा गरे ।