• मंसिर १७ २०८१, सोमबार

यसकारण १ न. प्रदेशको नाम ‘लिम्बुवान-किरात-खम्बुवान’ राख्नु पर्छ

असार ३० २०७८, बुधबार

संघीय  लोकतान्त्रिक राष्ट्रिय मञ्चले लामो समयदेखि प्रदेश न.१ को नामाकरण ‘लिम्बुवान–किरात–खम्बुवान’ हुनुपर्छ भने आन्दोलन गर्दै आएको छ । मञ्चले एकल तथा विभिन्न समयमा जनजातिका विभिन्न घटकसित संयुक्तरुपमा पनि संघर्ष गर्दै आएको छ ।

लिम्बुवानको लालमोहर सन्धि अर्थात् लिम्बुवान स्वायत्तता र किपट व्यवस्थालाई काठमाडौं केन्द्रित एकात्मक राज्य सत्ताले षड्यन्त्रहरु प्रयोग गरेर एकपक्षियरुपमा अवरुद्ध गर्दै आएको छ । र लिम्बुवानका जनतामाथी उत्पीडन गर्दै आएको छ । राज्यले दमन गरेर उत्पीडित भएकै कारणले हामी अधिकार मागिरहेका छौं ।

नेपालका सबै आदिबासीहरु धिमाल, लेप्चा, मेचे, राजवंशी, गनगाईं, राई खम्बु, शेर्पा, तामाङ, नेवा, गुरुङ, मगर, खस, थारु, छन्त्याल, थामी, सुनुवार, माझी, चेपाङ, आठपहरिया, याक्खा, याम्फू आदिहरुले र उत्पीडित दलित समुदायहरुले पनि एकदम नजिकबाट यो कुरा बुझ्न जरुरी छ ।

किन की यो क्षेत्र लिम्बुको मात्र होइन नेपालको सबै आदिवासीहरुको किपट थियो तर लिम्बुवानलाई जस्तै षडयन्त्र गरेर एकात्मक राज्यसत्ताले विभिन्न समयमा एकपक्षीय रुपमा खोसेको छ ।

लिम्बु आदिवासीहरुको माग र मुद्धाले एउटा उचाई लिन थाल्यो भने भोली सबै धिमाल, ताजपुरिया, राई खम्बु, तामाङ सबै आदिवासीहरुको माग र मुद्धाले स्वतः एउटा उचाई लिँदै गइहाल्छ ।

लिम्बुवानमा आदिवासीय हक अधिकार स्थापित गर्न सकियो भने त्यो नजिर बन्छ र देशभरको आदिवासीहरुको लागि स्वतः बाटो खुल्छ । त्यसैले आज लिम्बुवानले जुन माग र मुद्धाहरु उठान गरिरहेको छ त्यो केवल लिम्बुवानको लागि मात्र होइन, बरु नेपालका सम्पूर्ण आदिबासीहरु र उत्पीडित समुदायहरुको लागि पनि हो ।

अब नेपालका सम्पूर्ण आदिवासी अभियन्ताहरु, पहिचानवादीहरुलाई एउटा जिज्ञासा छ की लिम्बुवानले आफ्नो लडाईं अघि बढाइरहँदा अन्य सम्पूर्ण आदिवासीहरुले पनि साथ दिनु पर्ने हो की रमिते भएर बस्नु पर्ने हो ? तपाईंहरु आफै विवेक पुर्याउनु होला ।

तर यो चाहि दावाका साथ भन्न सकिन्छ की लिम्बुवानको माग र मुद्धाले नेपालको सम्पूर्ण आदिवासी र उत्पीडित समुदायलाई आआफ्नो पुख्र्यौली किपट प्रथामा हक अधिकार स्थापना गर्न सय प्रतिशत सहयोग पुग्छ ।

यस्ता छन् प्रमाण र कारणहरु :

१) पृथ्वीनारायण शाहले लिम्बुवानसित १८३१ सालमा गरेको सन्धीलाई राजा महेन्द्रको सरकारले ०१७ चैत्र २७ गते लालमोहर लगाई सदर गरेको छ ।
२) नेपालको सर्वोच्च आधिकारिक पत्र नेपाल राजपत्र मा ०२१ भाद्र ३१ गते ‘पल्लो किरात लिम्बु समुदायमा रहेको किपट’ निरन्तर रहने भनेर प्रष्टरुपमा उल्लेख गरिएको छ ।

३) तर उनै महेन्द्र, उही पञ्चायत, उही कर्मचारीतन्त्र र त्यसबेला राइलिम्बुको छाला काटेर जुत्ता लगाउँछु भन्ने धनकुटे प्रधानमन्त्री सुर्यबहादुर थापाहरुको संयुक्त षडयन्त्रमा ०२५ को भूमिसुधार ऐन ल्याएर यतिसम्म गरे ।

क) किपट जग्गा रैकर सरह फार्छे राजिनामा गर्न सकिनेछ ।

ख) किपट जग्गामा रैकर सरह मालपोत लिइनेछ ।

यसरी षडयन्त्रमूलक, अति औपनिवेशिक, अति आदिवासी विरोधी तरिकाले वि.स.१८३१ को सन्धि विरोधी कथित ऐन ल्याएर लिम्बुवानको किपट र स्वायत्तता अपहरण गरिएको छ ।

लिम्बुवान स्वायत्तता ठिक छ भनेर तिनीहरुले नै दुई वर्ष अघि नेपाल राजपत्रमा सूचना निकाल्ने अनि दुइ वर्षपछि तिनै डकैतहरुले लिम्बुवानको किपट स्वायत्तता खतम भयो भन्न पाइन्छ ?

हो, यसरी लिम्बुवान र लिम्बुहरुलाई राजतन्त्रले पछिल्लो पटक अत्यन्तै षडयन्त्रपूर्वक धोका दिएकोले एकजना पनि लिम्बु यो आकाश र धर्ती रहुञ्जेल राजतन्त्रको पक्षमा उभिनु हुँदैन ।

सम्पूर्ण लिम्बुवान र लिम्बुहरु सधै गणतन्त्रवादी हुनुपर्छ भनेर यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बारम्बार भन्नुको मूल कारण यही हो ।
काठमाडौँको एकात्मकवादी राज्यसत्ताले हाम्रो यो कुरा सुनोस् । हाम्रा मागहरु पूरा गरोस् । वि.स ०२१ सालदेखि ०२५ सालको बिचमा लिम्बुवान माथि भएको षडयन्त्रपूर्ण निर्णयहरु तुरुन्त खारेज गरोस् ।

गलत निर्णय सच्याउ :

इमानदार लिम्बुहरुमाथी षडयन्त्र गरेर भंग गरिएको सन्धिलाई अहिलेको पुस्ताले राम्रोसित अध्ययन गरिरहेको छ । एकलरुपमा षडयन्त्रपूर्णरुपमा मिल्काइएको १८३१ को सन्धि अबको पुस्ताले मान्नेवाला छैन र सो सन्धि लागु गराउनका लागि आन्दोलित हुनेछ । बरु जिन्दगीभर खालि खुट्टा र भोको पेटमा हिंड्ने छ तर सत्ताधारीहरुको लोभ र लालचमा अबको पुस्ता लाग्ने छैन ।

गणतान्त्रिक भनिएको राज्यले लिम्बुवानको माग समयमा नै सम्बोधन गर्नुपर्छ । नत्र भोलिको दिनमा यो नेपालकै र यस क्षेत्रकै कहिले निको नहुने राजनैतिक घाउ बन्नेछैन भन्न सकिँदैन । नेपालका सबै आदिवासीहरु र उत्पीडित समुदायहरुले लिम्बुवानको माग र मुद्धाहरुलाई नजिकबाट हेर्नु र अध्ययन गर्नुपर्छ ।

किन की सिंगो देशको मुक्तिको गुदी कुरा नै लिम्बुवानको माग, मुद्धाको रुपमा रहेको छ । र ज्युँदो प्रमाणहरुमा पनि रहेको छ । जय दलित, जय किरात–खम्बुवान, जय शेर्पा, जय तामसालिङ, जय नेवाः, जय तमुवान, जय मगरात, जय खसान, जय थरुहट, जय मधेश, जय लिम्बुवान, जय १० जोड १ प्रान्त ।

लेखक : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष हुन् ।