काठमाडौँ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि ५ अर्ब निकासा गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिएका हुन् ।
पदभार ग्रहणपछि उनले कोभिड-१९ ले असर पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चुनौती थपिएको बताए । सरकार कोरोना महामारीमा जनताको जीवनरक्षामा केन्द्रित भएको बताउँदै सबै नागरिकलाई खोपको सुनिश्चिता सरकारले गर्ने बताए ।
त्यस्तै, अर्थमन्त्री शर्माले कोरोना जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसीयू तथा भेन्टिलेटर खरिदका लागि पनि रकम स्वीकृति दिएका छन् ।
उनले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो।