रगत र पसिनाले सिंचित माटोमा
अङ्कुरित बीज हुर्काउँदै,
पल्लवित लोकतन्त्रको वृक्षमा
गणतन्त्रको रङ्गिचङ्गी फूल फुलाएर
वीरताको अमरगाथा कोरेकाहरु
परिवर्तनको प्रतिफलबाट बञ्चित भएर
बाँचिरहेछन् ।
गुमनाम जिन्दगी !
जीवनोपयोगी शिक्षाबाट ठगिएर
व्यापारिकरणको नंग्राले चिथोरिएर
ठालूहरुको होच्याइबाट थलिएर
थिलथिलो भएका पाठशालाहरुले
जन्माइरहेछन्
बेरोजगार बहादुर र कान्छाहरु ।
पूर्णीमालाई लखेटेर
औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
झलमलाई रहेछन्
पितृसत्तात्मक सोचका ताराहरु
असमानताको कालोपत्रे बिछ्याउँदै
एउटै पाङ्ग्राले रथ हाँकिरहेछन्
एक्काइसौँ शताब्दीका अर्जुनहरु ।
पहिचान लुकाउनेहरुको विवशता देखेर
शिर निहुराउँदै मानवता झोंक्राइरहेछ
आफैँले सजाएका मन्दिर र महलहरु हेर्दै
छुवाछूतले फाटेका मन सिलाउने मेसिन
आविष्कार नहुनुका कारणहरु
खोजिरहेछन् आरनहरु ।
सङ्किर्णताको माला भिरेर
अहङ्कारको टीका लगाएर
ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
शीतयुद्धमा भाग लिइरहेछन्
धर्मका अनुयायीहरु ।
हुरी, बतास र वर्षादसँग
आत्मासमर्पण गरिरहेछन्
चिसो चुल्हो बोकेका श्रमजीवीका बासस्थानहरु
वर्गीय उत्पीडनका खाडलहरु गहिर्याउँदै
बगिरहेछन् निरन्तर
भोकको आगो निभाउन नसकेका
अभावलाई बगाउन नसकेका
पसिनाका नदिहरु ।
सुशासनको रटानले तिर्खाएर
धारा–उपधाराहरुले
प्यास मेटेकाहरु
सामुन्ने ठडिइरहेछन् प्रश्नका सगरमाथाहरु
आखिर,
किन हटेनन अझै विभेदहरु ?
हाल : खोटाङ