• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेसबाट खाँण गृहमन्त्री, कार्की कानूनमन्त्री र माओवादीबाट शर्मा अर्थमन्त्री र पम्फा उर्जामन्त्री

असार २९ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीको नाम सिफारिस भएको हो ।

देउवाले पद तथा गोपनीयताको सपथ लिए लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ ।

पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए ।

यस्तै  नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने भन्ने टुंगो लगाएको थिएन । एक नेताका अनुसार अध्यक्ष प्रचण्डले नाम सिफारिस नगर्न आग्रह गरेका थिए र नेताहरुले समावेशी र सक्षम टिम सरकारमा पठाउनुपर्ने जोड दिएका थिए । बैठकको अन्त्य गर्ने क्रममा प्रचण्डले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्र पार्टीबाट क–कसलाई सरकारमा पठाउने बताएका थिए ।

देउवालाई भेटेपछि सम्भव भए स्थायी कमिटी बैठक बस्ने, नभए नेताहरुसँग परामर्श गरेर नाम पठाउने उनको आश्वासन थियो ।

तर मन्त्रीका लागि शर्मा र भुसालको नाम दिंदा आफूहरुसँग कुरा परामर्श नभएको नेताहरुको गुनासो छ ।