कास्की । २५ वर्षअघि लेकसाइडमा सुरु गरेको ट्रेकिङ पसल बालकृष्ण सुवेदीले कोरोना महामारीको समयमा बन्द गर्नुपर्यो । सशस्त्र युद्ध र २०७२ को भूकम्प झेलेर आएका उनी यो महामारीमा भने व्यवसायमा अडिइरहन सकेनन् ।
गंगापूर्ण भ्यु ट्रेकिङ सप छोडेर उनी कास्कीकोटमा खेतीकिसानी गर्छन् । उनले पसलका सामान कोठामा ल्याएर राखेका छन् । लाखौं रुपैयाँको सामान बिग्रिएला भन्ने डर छ । ‘घरबेटीले पनि भाडा मिनाहा गरिदिएनन्,’ उनले भने, ‘यो अवस्था कहिलेसम्म हुन्छ थाहा छैन ।
ऋण खोज्दै भाडा तिर्नुभन्दा बरु व्यवसायबाट हात झिक्न ठीक लाग्यो ।’ पाँच जनाको परिवार उनले ऋण खोजेरै चलाइरहेका छन् । सरकारले ल्याएको सहुलियत ऋण योजनामा उनले आवेदन दिएका छन् । पाउने नपाउने टुंगो छैन । भन्छन्, ‘व्यवसाय गरिरहेकाले अरू अनुभव छैन ।
जागिर खान उमेरले दिँदैन । अब कृषिभन्दा अरू उपाय छैन ।’ कोरोना महामारीको दोस्रो लहरसँगै लेकसाइडकै अमृत ट्रेकिङ सप, थ्रीस्टार ट्रेकिङ सप बन्द भइसकेका छन् । लेकसाइडमा रहेका करिब एक सय ट्रेकिङ सपमध्ये १२ प्रतिशत पूर्णरूपमा विस्थापित भएको ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन पोखराका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।
केही ट्रेकिङ पसल बन्द हुने क्रममा छन् । ‘भएकामध्ये अहिले ७० प्रतिशत जति खुलेका छन्,’ उनले भने, ‘खोलेर पनि के गर्ने ? ग्राहक नै छैनन् ।’
पोखरामा रहेका होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल एजेन्सी लगायत पर्यटन व्यवसाय विस्थापित हुने क्रम बढ्दो छ । पश्चिमाञ्चल होटल संघको तथ्यांकअनुसार कोरोना महामारीको पहिलो लहरलगत्तै ७० होटल पूर्ण रूपमा बन्द भएका थिए । अहिले यो संख्या एक सयको हाराहारीमा पुगेको छ ।
घरभाडा र ऋणको बोझले १० देखि १५ बेडसम्मका धेरै होटल व्यवसायीले व्यवसायबाटै हात धुनुपरेको संघका अध्यक्ष विकल तुलाचनले बताए । ती होटल बन्द हुँदा ३०–३५ करोड रुपैयाँ जोखिममा परेको उनको भनाइ छ । ‘यही अवस्था अलि समय रहने हो भने पर्यटन व्यवसायबाट पलायन हुनेको संख्या बढ्ने निश्चित छ,’ उनले भने, ‘अहिले पनि केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् ।’ पोखरामा हाल ५ सय होटल तथा रिसोर्ट छन् ।
१८ हजार बेड संख्या छ । तिनमा ५ खर्ब रुपैयाँको लगानी छ । ३ सय रेस्टुरेन्ट छन् । कोरोना महामारीको असर ट्रेकिङ सामग्री पसल, ससाना रेस्टुरेन्ट, डुंगा व्यवसायी समेतलाई परेको छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपफ्लायर, बन्जी जम्प, र्याफ्टिङ, क्यानोनिङ, हट एअर बेलुन लगायत साहसिक गतिविधि ठप्प छन् ।
आजको कान्तिपुरमा विस्तृतमा यो समाचार छापिएको छ ।