• मंसिर ८ २०८१, शनिबार

नोकियाले हाल्यो ओप्पो विरुद्ध मुद्धा

असार २८ २०७८, सोमबार

काठमाडौं । फिनल्याण्डको टेलिकम कम्पनी नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध मुद्दा दायर गरेको छ । बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको अभियोगमा ओप्पो विरुद्ध मुद्धा दायर गरिएको हो । स्मार्टफोनको कनेक्टिभिटी, इन्टरफेस तथा सेक्योरिटी फिचर लगायतका विभिन्न विषयका प्याटेन्टको उल्लंघन भएको भन्दै नोकियाले ओप्पोविरुद्ध मुद्दा हालेको हो ।

रिपोर्टअनुसार सन् २०१८ मा बहुवर्षीय लाइसेन्सिङ सम्झौता भएको थियो, जसको अवधि अहिले सकिइसकेको छ । ओप्पोले उक्त सम्झौता नवीकरण गर्ने आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै नोकियाले सम्झौता समाप्त भएपश्चात् पनि ओप्पोले आफ्नो प्याटेन्टहरुको प्रयोग गरेको हुनाले ऊ विरुद्ध कानूनी कारबाहीमा उत्रिने निर्णय गरिएको नोकियाले जनाएको छ ।

उता ओप्पोले भने नोकियाको पछिल्लो कदमले पेटेन्टको स्वच्छ, निष्पक्ष तथा तर्कपूर्ण लाइसेन्सिङलाई अवमूल्यन गरेको जनाएको छ । ‘ओप्पोले आफ्नो तथा तेश्रो पक्षको बौद्धिक सम्पत्ति अधिकारको सम्मान तथा संरक्षण गर्दछ र यस उद्योगमा पेटेन्ट लाइसेन्सिंग सहकार्यलाई विस्तार गर्न प्रतिबद्ध छ । तर मुद्दा मामिलालाई हतियार बनाउने जस्ता असंगत परामर्श चाहिँ स्वीकार छैन’ ओप्पोले भनेको छ ।

नोकियाका प्रवक्ताले चाहीँ पछिल्लो विवादको समाधानका लागि सिर्जनशील मार्ग बाँकी रहेको जनाएका छन् । रिपोर्ट अनुसार नोकियासँग अहिले पनि स्मार्टफोनसँग सम्बन्धित ठूलो परिमाणमा पेटेन्ट अधिकार सुरक्षित छन्, जुन सामसुङ, एप्प्ल, एलजी, लेनोभो तथा ब्लाकबेरी लगायतका कम्पनीले सम्झौता गरेर प्रयोग गरिरहेका छन् । यसबाट नोकियाले रोयल्टी प्राप्त गरिरहेको छ । एजेन्सीको सहयोगमा ।