काठमाडौँ। नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा वीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताएका हुन् ।
उनले भने,‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ । मलाई प्रधानमन्त्री हाम्रो अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नु भो । म मानिनँ । त्यसोभए राष्ट्रिय सभामा उठ्नुस् भन्नुभयो म उठ्दिन भने । तपाई किन उठ्नुहुन्न भन्नभयो ?, मैले भने राष्ट्रिय सभा र प्रतिनिधि सभाको विचमा विभेद अन्त्य गर्दिनुस् । कसरी हुन्छ विभेद अन्त्य भन्दा राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुस् ।’
उनले राष्ट्रियसभामाथि संसदको अभिन्न अंग भए पनि विभेद भएको बताए । “यो सभाले उचित सम्मान आर्जन गर्ने हो भने, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्छ,” गौतमले भने,
उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रिय सभामा पेश गर्नुपर्ने पनि बताए । नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनले बताए ।