पोखरा । गण्डकी प्रदेशका दुई विनाविभागीय मन्त्रीहरुले शुरुमै अस्वीकार गरेको मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सुरुमा मुख्यमन्त्रीले तोकिदिएका मन्त्रालय लिन अस्वीकार गरेका दीपक मनाङे र हरिशरण आचार्यले अन्ततः एक महिनापछि सोही मन्त्रालय सम्हालेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज हुन लागेको बजेटमाथिको छलफल कार्यक्रमअघि नै विवादित मन्त्रालयको विषयलाई टुङ्गो लगाउँदै मन्त्रालयको बाँडफाँट गरेका हुन् ।
यसअघि अर्थ मन्त्रालयमा दावी गरिरहेका जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय नै सम्हालेका छन् भने भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरिरहेका स्वतन्त्र सांसद दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी आज आइतबारबाट सम्हालेका हुन् ।