काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर क्रियाशील सदस्यता छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् ।
उनले क्रियाशील सदस्यता छानबिन समिति कार्यस्थल गौशालास्थित धर्मशाला भवनमा पुगेर छानबिन समितिका सदस्यसँग छलफल गरेका हुन् । छानबिन समितिका संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीसँग छानबिनको प्रगतिबारे जानकारी लिएका थिए ।
भेटमा पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिए । क्रियाशील छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानबिन समितिको काँधमा रहेको समेत बताएका थिए ।