हो हामी सर्पका
भ्रमित काँचुलीका खेतीमा रमाई
चश्मालाई दोषको न्यायलयमा उभ्याई
त्यही काँचुली हातमा परेको उपलक्ष्यमा
सारा भ्यागुताहरुलाई जम्मा पारी
विश्वयुद्ध जिते झैँ खुसियाली मनाई
जनता र सहिदका हातमा काँचुली थमाई
निरङ्कुश सर्पलाई सत्ताको महल सुम्पिनका निम्ति
आफैँमा तँछाड मछाड गरी
आफ्नै सार्वभौम राष्ट्रियता उदाङ्गो पार्ने
बहुमूल्य साचो उपहार दिएर
ढुकुटी रित्याउन हौसीरहेछौँ ।
हो, हामी भ्यागुता र सर्पका खेलमा आफूलाई
अब्बल सावित गर्नका लागि
सर्पका ढाडमा टेकेर हिँड्न पायौं भन्दै
सारा आकाश नै थर्किने गरी
जितको घोषणा गर्न तल्लिन हुँदैछौँ ।
हो हामी सर्पका भुलभुलैयामा परी
याद यो गर्दैनौं की
कुनै दिन आफ्नो स्वार्थसिद्ध गर्ने उद्देश्यले
सर्पले भ्यागुतालाई ढाडमा बोकेर
हिँडेको चक्रब्यूह रचि स्वार्थपूर्ति भएपछि
थाहै नपाई ढाडबाट पेटमा पुर्याएर
पेट भर्दै भएभरका शक्ति हत्याएर
बाँकी रहेका
भक्तहरुलाई माछोमाछो भ्यागुताका
षड्यन्त्रमा फसाउने दुस्साहस गर्ने छ भनेर ।
हो, हामी आफैलाई अप्ठ्यारामा पार्ने
तितो यथार्थलाई तिलाञ्जली दिई
सर्पका स्वार्थका थुप्राका साक्षी बन्दै
आफ्नो मूल्यवान जीवन
सर्पका शरीरमा खेल्न, टेक्न पायौं भन्ने भ्रममा बाँच्दै
आफूलाई सर्पले सेवा गरेको ठान्दै
आफ्नै भविष्य
समाप्त गर्नका लागि तयार हुँदैछौं भनेर ।
हो, हामी सानो खुसीमा फुर्किने भ्यागुतालाई
मडारिएका कालो बादलको परिदृश्यमा रहेको
बोक्रा भित्रका वास्तविकता के थाहा
आखिर सर्पका ढाडमा टेकेर हिँड्न पाउनु नै
हाम्रो दुर्भाग्यको आरम्भ रहेछ भनेर ।
हो, हामी झुठा आश्वसनमा रमाउने
भ्यागुतालाई के थाहा
सर्पले समय समयमा काँचुली फेर्दै
आफूलाई शुद्धी गर्नका निम्ति
भ्रमित काँचुलीका खेती गरी
बाहिर हिमाल पहाड तराईका कान्ला कान्लामा
गणतन्त्र फरफराएका काँचुली देखाएर
रङ्ग बदलिएका काँचुलीका रुपसँगै स्वार्थ बदल्दै
भित्रभित्रै विषालु तानाशाही सक्कली सर्प
भोक मेटाउने सत्ता हत्याउने आशामा
मुस्कुराइ बस्दो रहेछ भनेर ।
हो, हामी पनि काँचुलीका खेती गरेर
लोकतन्त्रका भ्रमित पखेटा फिजाउने सर्पका
स्वार्थ सिद्ध गर्नलाई
आन्दोलन बनेर किन नाराबाजी हड्ताल गर्ने
भ्यागुताका सन्तानहरु शहीद बन्दै
शालिकमा सजिने त हुन्
आखिर महलमा सजिने त
सर्पका सन्तान नै हुन् ।
हो, कुनै दिन त्यही लोकप्रिय सर्प
सत्ता, शासन, कुर्सी र महलका मातले
निम्न वर्गका भ्यागुतालाई
मोही अनि भोजन देख्न थाल्दछन्
यसर्थ
लागौँ, जागौँ, उठौँ, जुटौँ
क्रान्तिको सचेतनासँगै
विभेद उन्मुलन गर्ने विद्रोही नायकका
ढृड संकल्पका यात्राहरुमा
जालान्धर झैँ जाल बुन्न
जो सर्प जस्तै
भेष बदल्ने बहुरुप अङ्गाल्ने
बाघको छाला ओढेर रजाइँ गर्ने स्यालका
धुत्र्याइँ बन्ने दिशा तर्फ ।
हो, हामीले सर्पलाई मृगका आँखाले हेर्यौँ भने
अवश्य त्यो बाघ जस्तै देखिन्छ
तर त्यही सर्पलाई हिम्मत गरेर
बाघका आँखाले हेर्यौँ भने
अवश्य त्यो मृग जस्तै देखिन्छ ।
हो त्यसैले बाघ बन्न सिकौँ अनि
आफ्नै भ्यागुताहरुका साम्राज्य निर्माणमा
कम्मर कसेर अघि बढौँ
जहाँ काँचुली फेर्दै भित्र हाँसी रहेको
सर्पलाई सत्य कुरा लुकाएर लुकाउन नसकिने
भ्रमित प्रपञ्च डोकोले छोपेर छोपिन्न
भन्ने क्रान्तिका ज्वालामुखी विष्फोट गर्ने
चेतना भ्यागुताहरुमा प्रवाह गर्दै
सर्पका कुप्रवृत्तिको अन्त्य हुनेछ
भन्ने सपना साकार पार्न ।