• मंसिर ११ २०८१, मंगलवार

देश समृद्ध बन्न नेता गतिलो हुन पर्दोरहेछ

असार २६ २०७८, शनिबार

हाम्रो देशमा ३ दशकअघिसम्म उद्योगको हिस्सा १२ प्रतिशत थियो । त्यो अहिले ५.६ प्रतिशतमा झरेको छ । बन्दाबन्दीका कारण अझ ओरालो लाग्नेक्रममा छ । कृषि प्रधान देशमा जिडिपीको एक चौथाई मात्र यसक्षेत्रको योगदान भएको छ र यो हरेक वर्ष घट्दो छ । आव ०६८-०६९ सम्म जिडिपीको एकतिहाई अर्थात् कृषिको योगदान ३२ दशमलव ७ प्रतिशत रहेको थियो । निरन्तर ओरालो लाग्ने क्रममा अहिलेको आर्थिक सर्भेक्षण अनुसार २५ दशमलव ८ प्रतिशतमा पुगेको छ, जुन हाल सम्मकै न्यून हो ।

चारवर्ष अघिसम्म यसको वृद्धि दर ५ दशमलव ३ प्रतिशत र जि डिपीमा कृषिको योगदान २८ दशमलव ९ प्रतिशत थियो । विकसित देशमा अर्थतन्त्रका ३ आधार छन् जसमा उद्योग, कृषि र सेवा हुन् । सेवामा पनि धेरै विषयहरु छन् । खासगरी पर्यटन, यातायात, बैंकिङ, स्वास्थ्य, मनोरञ्जन आदि । विकसित देशमा रोजगारीको आधार उद्योग नै हुन्छ । झण्डै एक चौथाइ जनशक्ति यसैमा संलग्न हुने गर्छन् । कृषिमा पनि संलग्न हुन्छन्, बाँकी अन्य सेवामा । विकासोन्मुख देशका लागि पनि कृषि, उद्योग र सेवाक्षेत्रमा एकतिहाईका दरले जनशक्ति परिचालन भई रोजगारी व्यवस्थापन हुनु राम्रै हुन्छ । अझ बढी राम्रो त बढी रोजगारी उद्योग र सेवा क्षेत्रमै हो । हाम्रो सेवाक्षेत्रमा बढी सम्भावना पर्यटन हो । कृषिप्रधान देश भएकाले कृषिक्षेत्रमा अधिकांश जनशक्ति परिचालान पनि नराम्रो थिएन । कारण हाम्रो रोजीरोटीको क्षेत्र नै यही हो ।

चीनको प्रसंग

उन्नत भनिएका देशमा अहिले पनि दुई तिहाई जनसंख्या सेवाक्षेत्रमै संलग्न छन् । दक्षिण कोरियामा २५ प्रतिशत, कुवेतमा २४.४ प्रतिशत, रुसमा सेवाक्षेत्रमा ३२.३ प्रतिशत, चीनमा कृषि क्षेत्रमा २४.७ प्रतिशत, उद्योग क्षेत्रमा २८.२ प्रतिशत र सेवाक्षेत्रमा ४७ .१ प्रतिशत जनसंख्याको रोजगारी व्यवस्थापन भएको देखिन्छ । चीनमा भोकानांगा मानिस बिरलै होलान् । त्यहाँ कम्युनिज्म छ र समाजवादको पाठ सिकाइन्छ । कडा अनुशासन र सुशासन छ । चीनमा माओत्सेतुङले कम्युनिष्ट क्रान्ति गरे यता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशतले ठूलो थियो । सन् १९७७ तिर देङ सियायो पिङले चीनमा खुल्ला बजार नीति ल्याए ।

त्यतिबेलासम्म यहाँको अर्थतन्त्र अकाशियो । अहिले उत्पादन र निर्यातमा चीन विश्वमा एकछत्र रजाइँ गर्दैछ । विश्वकै व्यापारीक केन्द्र बनेको छ चीन । सन् १९७८ मा बजार अर्थतन्त्र सुधारपछि चीनको वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशत रहेको छ । हाल यसको आर्थिक वृद्धिदरमा केही कमी आए पनि विश्व अर्थतन्त्रमा ऊ नै अगाडी छ । सन् १९४९ देखि १९७८ सम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत संघको शैलीमा केन्द्र नियन्त्रित अर्थ व्यवस्थामा थियो । त्यतिबेलासम्म निजी व्यापार र पुँजी बजारलाई स्थान थिएन । औद्योगिक साम्यवादका लागि माओले दीर्घकालीन अर्थव्यवस्था स्थापना गरे ।

माओको निधनपछि देङ सियाओ पिङ र पछिका नेतृत्व व्यवस्थापनले सुधार गरे । एकदलीय शासनको अधीनमा बजारोन्मुख मिश्रित अर्थव्यवस्था र १९७८ पछि निजीकरण सुरू भयो र विदेशी लगानी पनि । उद्योगहरू स्थापना हुन थाले, राज्य नियन्त्रित प्रणाली हट्दै गयो । उसले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको जुलाई १ सन् १९२१ लाई स्मरण गर्दै आप्mनो सयवर्षे इतिहासको गौरब गर्दैछ । पार्टीका महासचिब सि को नेतृत्वमा चीन संसारकै उन्नत देश बन्न सफल छ । अरुलाई कुनै दुःख नदिने र नसताउने, विश्वव्यापी विकासको साझेदार बन्ने सहअस्तित्वमा विश्वास गर्दै आप्mनो र सकेसम्म अरुको भलो चाहँदै अगाडि बढेको देखिन्छ । विश्वमा औद्योगिकक्षेत्रमा उसले गरेको प्रगति उल्लेखनीय छ, कृषि कर्ममा भन्ने हो भने धान उत्पादनमा अब्बल छ ऊ, तीव्र जनसंख्या हँुदा पनि उसले सजिलै व्यवस्थापन गरेको छ ।

मलेसिया

मलेसियामा उद्योग क्षेत्रमा १८.३ प्रतिशत जनसंख्या संलग्न छन् । देश समुन्नत हुन, विश्वसामु अब्बल हुन त्यहाँको नेतृत्वकै हात रहने कुरा मलेसियाले सिकाएको छ । विश्वका राजनेताको नाममा गनिने डा.महाथिर बीन मोहम्मदले मलेसियालाई आजको मलेसिया बनाए । उनको २२ वर्षको कार्यकालमा मलेसियाले भारी प्रगति गर्यो । सन् १९२५ को डिसेम्बर २० मा मलेसियाको अलोर सेतारमा जन्मिएका बीन १९४५ देखि राजनीतिमा लागे । उनको राजनैतिक दल होमल्याण्ड फाइटर पार्टी हो । सन् १९८१ मा तत्कालीन प्रम तुन हुसेन ओनले स्वास्थ्यका कारण पद त्याग गरेपछि सन् २००६ सम्म देशको चौथो प्रम बनेका महाथिरले मलेसियालाई कायापलट नै गराए । १३ वटा प्रान्तमा विभाजित मलेसियामा ५ प्रान्तहरुमा सुल्तानी राज थियो र ती एकअर्कामा झगडा गरिरहन्थे ।

मोहम्मदले त्यहाँको संविधान संशोधन गरिदिए, संसद सदस्य हुन स्नातकको योग्यता चाहिने भयो । उनले देशमा भएको स्रोत साधनको अधिक परिचालन गराए, जल, जमिन, जंगलको प्रयोग गरे, संसारका धनाड्यहरुलाई यहाँ आकर्षित गराए, बहुराष्ट्रिय कम्पनीको ओइरो लाग्यो । आप्mनो उमेर ९५ वर्षसम्म शासनमा बसेका उनले देशको अर्थ व्यवस्थालाई माथि उठाए । नेपालको समेत भ्रमण गरेर उनले पारदर्शिता, सहकार्यको प्रेरणा दिए, निजीक्षेत्रसँग हातेमाले गर्न भने ।

सिंगापुर

सिंगापुरको इतिहास धेरै लामो छैन । सन् १९६५ मा यो मलेसियाबाट छुट्टिएको हो । वरिपरी समुद्र, प्राकृतिक स्रोत नभएको एउटा टापु हो यो । सबै भूगोल जोड्दा हाम्रो काठमाडौँ उपत्यका जत्रो पनि छैन । जम्मा ५७० वर्ग किमि जमिन भएको सिंगापुरमा २० लाखको हाराहारीमा जनसंख्या होलान् । नेता लि क्वानले सिंगापुरलाई आजको सिंगापुर बनाएका हुन् । सन् १९२३ को सेप्टेम्बरमा जन्मिएका लिले बेलायतमा अध्ययन गरे । मलेसिया र इन्डोनेसियाका बीचमा रहेको सिंगापुरले अमेरिकाको न्यूयोर्क र पूर्वको हंगकंगलाई बिर्साउँछ । छिमेकी हङकङ शहर र न्यूयोर्कको म्यानहाटभन्दा कम छैन सिंगापुर ।

प्रतिव्यक्ति आय भन्ने हो भने जापान पछिको पहिलो छ, यो देश । सन् १९५४ मा लिले कानूनमा  आफ्नो अध्ययन सकेपछि सिंगापुरमा पिपुल्स एक्सन पार्टी भन्ने राजनैतिक संगठन खडा गरे । पार्टीको महसचिव भएर सन् १९९२ सम्म काम गरे १९५५ मै उनी सिंगापुर विधान सभामा चुनिए । १९५९ मा स्वशासित सिंगापुरका प्रम बने । सन् १९६३ को सेप्टेम्बरदेखि मलेसियाको एक प्रदेशको रुपमा रहँदा पनि उनी त्यहाँको प्रम नै रहे । सन् १९५९ को विधान सभामा जम्मा ५१ सिटमध्ये उनको पार्टीले ४३ सिट ल्याएको थियो । ३५ वर्षको युवा उमेरमै प्रम बनेका उनले सन् १९६७ मा समृद्धिका लागि आर्थिक विकास बोर्ड गठन गरे ।

 

कुचो लिएर  आफै सडक सफा गर्न निस्कने लि क्वान ३१ वर्षसम्म लगातार प्रम बनिरहे । एसियामा सिंगापुर आज धेरै नै समृद्ध भएको देखिन्छ । १९६० को दशकसम्म विश्वको सबैभन्दा गरिबमा गनिने मुलुक सिंगापुरको कायापलट भएको छ अहिले । समृद्ध राष्ट्रको रूपमा चिनिन त्यस देशको नेता गतिलो हुनुपर्ने रहेछ । विश्वकै इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको रूपमा काम गर्ने लि क्वान वास्तवमै शक्तिशाली व्यक्ति हुन् । सिंगापुरको अन्तराष्ट्रिय चांगी विमानस्थल र त्यहाँका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ । विश्वकै लगानी आकर्षित मुलुक हो यो । समुद्रपारी रहेको मलेसियाबाट पाइपबाट पानी आपूर्ति भएको छ ।

बाटाघाटाका धाराहरूबाट पानी पिउन मिल्छ । त्यहाँको सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, प्रविधिमा आधारित पारदर्शी प्रणाली, जलीय यातायातको विकास, सार्वजनिक परिवहनको कुशल व्यवस्थापन, प्रदुषणरहित वातावरण, सडकमै उभिरहौं जस्तो लाग्ने, पर्यटकीय क्षेत्रहरू अत्यन्त मनमोहक धेरै छन् सिंगापुरमा । वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणाली छ, अनिवार्य शिक्षा, हरेक तहका जनतामा शिक्षाको पहुँच पुर्याएर प्रधानमन्त्री लि क्वानले साँच्चै सिंगापुरलाई सिंगारे । विश्वकै महत्वपूर्ण वित्तीय केन्द्रका रूपमा रहेकोे छ यो । जलीय र उड्डयन क्षेत्रलाई अझ उदाहरणका रूपमा स्वीकारेको र विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालयका रूपमा सिंगापुरले  आफूलाई उभ्याएको छ । लगानी आकर्षण केन्द्र सिंगापुरमा धुलो, धुँवा, फोहोर कतै भेटिन्न । चीन र अमेरिकासँग सिंगापुरले आर्थिक कुटनीति राम्रो गरेको छ ।

र अन्त्यमा

छिमेकी भारत हाल विश्वको पाचौँं स्थानमा छ, अर्थतन्त्रमा । धान उत्पादनमा पनि अब्बल छ यो । सन् २०१९ सम्म बेलायतलाई उछिन्यो उसले । भूगोल र जनसंख्याको हिसावले यो ठूलो छ । जिडिपी प्रतिव्यक्ति आयका हिसावले भने धेरै तल छ अर्थात् जम्मा १९८२ मात्र । विगतलाई हेर्ने हो भने ऊ सन् १९८० सम्म विश्वको तेह्रौं स्थानमा रहेको, सन् १९१७ को उसको आर्थिक वृद्धिदर ६.७, सन् २०१८ मा ७.३ र सन् २०१९ मा ७.५ प्रतिशत हो ।

स्वाधीनता पछि उसको अर्थतन्त्रको शुरूवात कृषिबाटै भएको हो । हाल केही दशकयतादेखि निर्माण र सेवा क्षेत्रमा ऊ अगाडी छ । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत बढी छ र यसैबाट २८ प्रतिशत रोजगारी मिलेको छ । कृषिको योगदान १७ प्रतिशतमा छ र पनि पश्चिमी मुलुकका दाँजोमा राम्रो छ ऊ । भारतको उच्च जगेर्ना दर, अनुकूल जनसंख्या, मध्यमवर्गको उत्थान र सीमित आयातले उसलाई प्रगति गर्न सजिलो बनाएको छ । त्यहाँ धनी पनि छन् र गरिब पनि । गरिब बाँच्न असहज छैन । बेलायतको अधिनबाट स्वतन्त्र भएको देश भारतले गान्धी, नेहरु जस्तो नेतृत्व पायो, देशमा बसेको जग भत्कन पाएन । पछिकाले राम्रोसँगसम्हाल्दै ल्याए ।

हाम्रो देशमा नेतृत्वको स्थिरता भएन । ७० वर्षमा ७ वटा संविधान, सधैं राजनैतिक संक्रमण, विदेशीहरुकै चलखेल, सत्ता समीकरणको जोडघटाउ, परिश्रमी हातहरु विदेश पलायन, राजनीतिको चिराचिरामा दलहरुको कित्ताकाट, एउटाले अर्काको खोइरो खन्ने प्रवृत्ति, संस्थागत मेमोरीको अभाव, टिम वर्कमा विश्वास नभएको, निष्कृय प्रशासन संयन्त्र, निजी स्वार्थमै लागेर देशहित हेतु कोही कसैले त्यागको भावना नदेखाएको, गलत संस्कारका कारण सधै देशलाई धरापमा राख्ने प्रवृत्ति रहेको छ । फलस्वरुप देशको आर्थिकक्षेत्र ध्वस्तप्राय छ, समृद्धिको नारा केवल कर्मकाण्डी मात्रै भएको छ, आधारभूत आवश्यता पूरा गर्न नसकेको देश सानो तिनो समस्याले तर्सनु पर्ने अवस्थामा छ ।