काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि माओवादी केन्द्रले आफ्नो अद्यावधिक गर्न नसकेको तर्क गरे ।
उनले आफैले बनाएको संविधानलाई माओवादी केन्द्रले नमानेर अराजकता सिर्जना गर्न खोजेको धारणा पनि राखे । रायमाझीले सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गरेको जिकिर गरे ।
उनले देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने धारणा राखे । उनले माओवादी अब सिद्धिने भन्दै त्यस्ता पार्टीको पछि लागेर कुनै अर्थ नहुने बताए ।
उनले माओवादीले यसअघि पनि महाधिवेशनमा खल्तीबाट नाम निकालेर आफ्ना मान्छेलाई मात्र नेतृत्वमा ल्याउने काम गरेको आरोप पनि लगाए ।