• मंसिर १० २०८१, सोमबार

ठाकुर नेतृत्वको तत्कालीन राजपा दर्ताका लागि यादवले दिए निवेदन

असार २६ २०७८, शनिबार

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो नामको पार्टी यसअघि महन्थ ठाकुरको नाममा दर्ता थियो ।

जसपामा विवाद चलिरहेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा दर्ताका लागि निवेदन दिएका हुन् । जसपाको आधिकारिकता उपेन्द्र यादवलाई जाने सम्भावना बढेपछि महन्थ ठाकुर पक्षका नेताहरुले अरु कसैको नामबाट राजपा नेपाल दर्ता गराउने तयारी गरिरहेका थिए ।

त्यसको लागि कागजातहरु तयारी गरिरहेका थिए । यहीबीचमा यादवले बाजी मारे । महन्थ ठाकुरलाई जसपा नदिने र उनको पूर्व पार्टी राजपा पनि रहन नदिने भन्दै हरिनारायण यादवको नामबाट अध्यक्ष उपेन्द्रले आजै राजपा नेपाल दर्ता गर्न लगाएको स्रोतको दाबी छ ।

समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । २०७७ असार २४ गते निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो । एकीकृत भएको पार्टी एक वर्षसम्म कसैले दर्ता गराउन नपाउने प्रावधान रहेको छ । हिजो एक वर्ष पुरा नहुने वित्तिकै उपेन्द्र यादवले हरिनारायण यादवलाई अध्यक्ष राखेर राजपा दर्ता गराए ।

उपेन्द्र यादव निकट एक नेताले भने, ‘हरिनारायण यादव जसपाकै कार्यकर्ता हुनुहुन्छ उहाँलाई भनेर पार्टी दर्ता गर्न लगाएको हो ।’ तर हरिनारायण यादवले उपेन्द्र यादवले भनेर पार्टी दर्ता नगराएको बताए ।

उनी भन्छन्, ‘मलाई कसैले भनेर पार्टी दर्ता गराएको होइन, हामी केही साथी मिलेर मधेशमा नयाँ ढंगको राजनीति विकास गर्न यो पार्टी दर्ता गराएको हुँ ।’ आफू जसपाको कार्यकर्ता भएको नाताले कतिपयले उपेन्द्र यादवले नै यो पार्टी दर्ता गराउन लगाएको भनि आरोप लगाएपनि त्यसमा कुनै सत्यता नरहेको उनले दावी गरे ।