• मंसिर १७ २०८१, सोमबार

आखिर तानाशाह चाउचेस्कुलाई जनताले किन गोली हानेर मार्नुपर्यो ?

असार २५ २०७८, शुक्रबार

कुनैपनि तानाशाह बाहिर आफूलाई बडो शक्तिशाली देखाइरहेका हुन्छन् तर वास्तविक र भित्रि कुरा त यो हुन्छ की उनीहरु दुनियाँकै सबैभन्दा कमजोर मानिस नै हुने गर्छन् । तानाशाही सोच बोकेको मानिसले समाजका हरेक क्षेत्रलाई आफ्नो पञ्जाभित्र राख्न चाहन्छ किनकी उसले सोचेको हुन्छ । आफ्नो पञ्जा र नियन्त्रण भित्र नभएको कुनैपनि चीजले आफूलाई समर्थन गर्दैन । आफ्नो कमजोरी लुकाउन नै तानाशाहहरु बाहिर आफूलाई शक्तिशाली देखाउने कोशिस गरिरहेका हुन्छन् तर तानाशाहलाई भित्रभित्रै यो थाहा हुन्छ की ऊ नै दुनियाँको सबैभन्दा कमजोर र सबैभन्दा कायर पनि हो ।

यदी ऊ शक्तिशाली, लोकप्रिय र साहसी हुन्थ्यो भने आफ्नो सुरक्षाको खातिर राज्यको शक्तिलाई दुरुपयोग नै गर्ने थिएन । लोकप्रिय शासक जनताको घर दैलोमा एक्लै पनि पुगेका हुन्छन् भने तानाशाही शासक सुरक्षाको तामझाम सहित बाहिर प्रकट हुने गर्छन् । तानाशाहहरुले विभिन्न भ्रमहरु छरेर केही समय वा केही लामो समयसम्म जनतालाई अन्योलमा राखेर शासन गर्न सकेपनि अन्तिममा त्यस्ता तानाशाहरुको अवसान यति दर्दनाक हुन्छ कि उसको दर्दनाक अन्त्य समाजको नकारात्मक घटनाको रुपमा इतिहासमा देखिने गर्छ । इतिहासमा तानाशाहको दर्दनाक अन्त्यको यस्तो घटना पूर्वी युरोपेली देश रोमानियामा घटेको थियो । आउनुस् रोमानियाका तानाशाह निकोलाई चाउचेस्कुको कसरी उदय भयो ? अनि उनको दर्दनाक अवसान कसरी भयो जानकारी लिउँ ।

तानाशाह निकोलाई चाउचेस्कुको जन्म सन् १९१८ जनवरी २६ का दिन रोमानियाको स्कोरनिसेस्टी भन्ने स्थानमा भएको थियो । उनको जन्मस्थान देशको राजधानी शहर बुखारेष्ट नजिकै भएपनि उनको जन्म एक अत्यन्त गरिब परिवारमा भएको थियो । परिवारको नाजुक अवस्थाको कारणले उनले आफ्नो बाल्यकाल बिताउन पाएनन् । उनले विद्यालयस्तरको पढाई समेत पुरा गर्न सकेनन् । आफ्नो चाउचेस्कु जम्मा कक्षा ४ मात्र पास गर्न सफल भएभने ११ वर्षको बाल्यकालमै राजधानीमा उनले जुत्ता सिलाउने काम सिकेर जीविकोपार्जन गर्न बाध्य भएका थिए । उनलाई विस्तारै कम्युनिष्ट सिद्धान्तले आकर्षण गर्न लाग्यो ।

उनको बाल्यकालमा युरोपमा कम्युनिष्ट राजनीति एकदमै लोकप्रिय बन्दै गएको थियो । त्यसकारण उनी विस्तारै कम्युनिष्टहरुको युवा संगठनमा संगठित भए । कम्युनिष्ट राजनीतिमा लागेको कारण उनी जेल समेत परे । पछि उनी रोमानियाका कम्युनिष्ट पार्टीका मुख्य नेता घोरघे घोरघियुको संरक्षणमा हुर्किए । दोस्रो विश्वयुद्धको सेरोफेरोमा रोमानियामा कम्युनिष्ट पार्टीले सत्ता हातमा लियो । कम्युनिष्ट नेता घोरघे घोरघियुको निधन भएपछि सन् १९६५ मा चेस्कु रोमानियाको कम्युनिष्ट पार्टीका महासचिव बने । पछि सन् १९७४ मार्च २८ देखि १९८९ डिसेम्बर २५ सम्म लगातार १५ वर्ष उनी रोमानियाको शासक रहे ।

आफू शासनमा रहँदा उनले देश र जनताको गर्नुसम्म शोषण गरे । देशलाई ऋणैऋणको भारी बोकाए । उनी जनतालाई यति दुःख दिन्थे कि उनको शासनबाट आजित भएका जनतालाई समेत उनी भन्ने गर्थे,‘आफ्नो शासन त्यतिबेला ढल्छ जतिवेला स्याउको रुखमा नासपाती फल्छ ।’ उनले त्यसरी भाषण गरेको भोलिपल्ट त्यहाँका विद्यार्थीहरुले देशको राजधानी शहरका सबै रुखहरुमा नासपाती झुण्ड्याएर उनलाई व्यंग्य गरेका थिए । उनको शासनबाट विस्तारै जनताले विद्रोह गर्न थाले । आफू विरुद्ध भएका विद्रोहहरु चाउचेस्कुले हिंसात्मक रुपमा दबाउन खोजे ।

जनताको विद्रोह यतिसम्म विस्फोट भयो की १५ वर्षसम्म जनतालाई सताउन र देशलाई लुटनसम्म लुटिसकेपछि अन्तिममा जनता जागे र उनलाई एउटा विशाल आन्दोलनबाट सत्ताच्युत गरे । जनताको आक्रोस कतिसम्म भने चाउचेस्कूलाई सत्ताच्युत मात्रै गरेनन् आक्रोषित जनताले उनका दम्पतीलाई गोली हानेर मारिदिए । उनका दम्पतीलाई आन्दोलित जनताले गोली हानेर मारेको दिन थियो, १९८९ डिसेम्बर २५। यसरी रोमानियामा कम्युनिष्ट सिद्धान्त ओढेर आएका तानाशाहको जनताको विद्रोहबाट भौतिक रुपमै अन्त्य भयो ।

तानाशाह चाउचेस्कुबारे १० रोचक तथ्य :

१) तानाशाह चाउचेस्कुले औपचारिक रुपमा कक्षा ४ मात्र पढेका थिए तर उनले कुनै अध्ययन नै नगरी अर्थशास्त्र र राजनीतिशास्त्रको आफूले आफैलाई मानार्थ विद्यावारिधि उपाधीले विभूषित गरेका थिए ।

२) उनको शासन कालभरी रोमानियाका सडक, गल्ली चोकहरुमा उनका तस्विर टागेको हुनुपथ्र्यो र विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकहरुको पहिलो पन्नामा उनको दम्पतीको फोटो राखेको हुनुपथ्र्यो ।

३) उनको उचाई ५ फिट ४ इञ्च थियो तर उनी आफूलाई अग्लो देखाउन चाहन्थे । उनलाई अग्लो देखाउन फोटो ग्राफरलाई एउटा खास कोणबाट मात्र उनको फोटो खिच्न अनुमति थियो ।

४) चाउचेस्कु दिनमा कम्तिमा २० पटक रक्सीले हात धुने गर्थे । कसैलाई छोएपछि वा कसैसँग हात मिलाएपछि उनले तुरुन्तै रक्सीले हात धोइहाल्नु पथ्र्यो ।

५) विश्वमा कम्युनिष्ट सिद्धान्त मान्ने नेताहरुलाई अमेरिकाले सबैको विरोध गर्छ तर चाउचेस्कुलाई अमेरिकाले आफ्नो कम्युनिष्ट हो भनेर घोषणा गरेको थियो ।

६) संसारका कम्युनिष्टहरुले सोभियत रुषको समर्थन गर्थे र गर्छन् तर कम्युनिष्ट भएर पनि चाउचेस्कु सोभियत रुषको सधैं विरोध गर्थे ।

७) आफ्ना जनतालाई अभाव हुँदाहुँदै पनि चाउचेस्कु कृषि र औद्योगिक उत्पादन निर्यात गरिदिन्थे ।

८) जनता र देशको आवश्यकता भन्दा उनी सनकमा काम गर्थे । उनलाई आफ्नो देश राजधानी बुखारेस्टमा एउटा संसारकै सबैभन्दा ठूलो घर बनाउने सनक चढ्यो । अर्बौं रकम खर्च गरेर उनले सो घर बनाउन लगाए । सो घरलाई उनले ‘जनदरबार’ नामाकरण गरे । १५ हजार मजदुरले त्यहाँ ३ सिफ्टमा काम गर्थे तर ती मजदुरको लागि प्रयोग गर्ने एउटा पनि चर्पी उनले निर्र्माण गरेनन् । महिनामा १२ पटक सो निर्माणाधीन ‘जनदरबार’को निरीक्षणमा जाने गर्थे । एकदिन चाउचेस्कु निरीक्षणमा जाँदा उनको खुट्टा दिसा पिसाबको खालमा गाडिएको थियो ।

९) एउटा जुत्ता सिलाउने मानिस कम्युनिष्ट सिद्धान्तको बलमा राष्ट्र प्रमुखसम्म बन्न सके तर त्यही सिद्धान्तलाई उनले संसारभरी बदनाम बनाए ।

१०) उनी त्यस्ता शासक र तानाशाह थिए जसलाई जनताले आन्दोनमै गोली हानेर मारिदिए ।