काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माओवादी केन्द्र खारेजीको माग हास्यास्पद भएको बताएको छ । पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
“हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,” । केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।” केन्द्रीय कार्यालयका कार्यलय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न आग्रह समेत गरेको छ । ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ’ विज्ञप्तीमा उल्लेख छ।
बुधवार माओवादी केन्द्र अवैधानिक भन्दै नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापाहरुले उजुरी दर्ता गराएका थिए । आज पनि सोबारे बुझ्न आयोग पुगेका थिए ।