• असार २२ २०८१, शुक्रबार

भारतीय नाकाबन्दीका कारण स्याम्पू उद्योगी बनेका गौतम

असार २५ २०७८, शुक्रबार

घोराही, २५ असार ।
गाडी धुन, टल्काउन, शौचालय सफा राख्न, भुईं पुछ्न, बढार्न र नुहाउन धुन घोराही–१५ गौतम नगरका राजीव गौतमलाई सामग्री बाहिर बाट किन्नु पर्दैन । उहाँले रुन्टी ब्राण्डका वस्तु उत्पादन गर्नुभएको छ । उहाँ तिनलाइ थप विकसित र परमार्जित गर्न निरन्तर अध्ययन तथा प्रयोगमा हुनुहुन्छ ।

उहाँले हात धुने, रुन्टी भाँडा धुने र नुहाउने साबुन, सिसा पुछ्ने, गाडी धुने सेम्पो, गाडी टल्काउने वाक्स लगायतका वस्तु उत्पादन गर्नुहुन्छ । यसैगरी शौचालय सफागर्ने रुन्टी हापुर, रुन्टी हार्पिक, रुन्टी सिसा चमचम, भुईं सफागर्ने रुन्टी लाईजोल लगायतका वस्तु उत्पादन गर्नुभएको छ ।
यसरी उहाँलाई रुन्टी ब्राण्डको उद्योगपति एवं अनुसन्धानकर्ता बन्ने अवसर २०७२ सालको नाकाबन्दीले दिएको हो । भारतले नेपालमाथी गरेको नाकाबन्दीले कैयौं नराम्रा असर छोडेसँगै गौतमलाई भने सो नाकाबन्दीले उपलब्धिमूलक बनायो । उहाँले गत २०५७ सालदेखि घोराहीको काठेकोहलमा प्रभु गाडी धुलाई व्यवसाय चलाउँदै आउनुभएको थियो । शुरुका दिनमा दैनिक १० वटा पति मोटरसाइकल धोइन्थ्यो होला । उहाँका अनुसार २०६४ सालमा पुग्दा दैनिक एक बाल्टी खोस्टा उत्पादन हुन थाले ।

‘आफू वातावरण मैत्री परियो’ गौतमले भन्नुभयो, ‘दैनिक एक बाल्टी स्याम्पूका खोस्टा उत्पादन गर्दा चित्त बुझेन ।’ उहाँका अनुसार उहँ विकल्प खोज्न लाग्नुभयो । यसैबीच उहाँले काठमाडौंमा जर्किनमा स्याम्पू पाइने कुरा थाहा पाउनु भयो । त्यहीँ गएर ल्याउनुभयो र त्यसपछि बुटवलमा पनि फेला पर्यो । उसँग नियमित उपलब्ध गराउने गरी सम्झौता भयो । हाइसुक्क भएर सामान ल्याउनुभयो ।

जसै नाकाबन्दी भयो, स्याम्पू पनि रोकियो । उहाँका अनुसार डिजल छैन भन्यो जवाफमा म दिन्छु भन्नुभयो । डिजल दिने सर्तमा पनि स्याम्पू ल्याउन सकेन । सम्झौता नाकाबन्दीकै कारण टुट्यो । त्यसपछि झोँक चल्यो र उहाँ आफै खोज्न लाग्नुभयो । बजारका स्याम्पूको खोल अध्ययन गर्नुभयो । उहाँलाई ढुंगा खोज्दा देउता मिलेसरी डोभ सेम्पूको पत्तामा फर्मुला भेटियो ।

उहाँलाई ती फर्मुला (सुत्र) नौला लागेनन् । ती पढिएकै सुत्र रहेछन् । त्यसमा चाहिने केमिकल दिल्लीबाट ल्याउनुपर्दो रहेछ । त्यो पनि आयो । अनि सजिलै स्याम्पू बनाउन थाल्नुभयो । उहाँका अनुसार दुई सय लिटरको स्याम्पू बनाउन एक सय ८० लिटर पानी हालिँदो रहेछ । अनि बल्ल छक्दंग पर्नुभयो । हामीले त विदेशको पानी किन्दा रहेछौँ । आखिर पानी यहीँबाट जान्छ । हाम्रो बगेर खेर गएको पानी महंगो मूल्यमा किनिरहेका छौँ । त्यसबाट छुटकारा पाउन गाह्रो पनि छैन ।

गाईको घिउ, चिउरी, निम, अरन्डी, नरिवल, सूर्यमुखी, पाम तेल र वलीव आयल लगायत नुहाउने साबुनमा मिसाउनु हुन्छ । यसैगरी मह, एलोभेरा जेल, खली, चनाको वेसन लगायतका जीवन उपयोगी वस्तु त्यो साबुनमा प्रयोग भएका छन् । तेलको १५ प्रतिशत मात्रै काष्टिक सोडा प्रयोग भएकाले केमिकलको मात्र निकै न्युन छ । त्यसैले मगमग बसाउँछ । कुनै साइड इफेक्ट छैन । केमिकल नहाल्दा हेर्दा कालो छ । कुनै खालको रंगिचंगी छैन । यसैगरी सबै उत्पादनमा केमिकल (रसायन) को मात्रा निकै कम छ । उपयोगी वस्तु मात्रै छन् । कुनै समस्या आउन सक्दैन ।

अहिले उहाँको उद्योगमा भुईंमा लस्करै साबुनका डल्ला सुकाइएको हुन्छ । लुगाधुने साबुनको खात (थुप्रो) लागेको छ । टाँडीभरी सेतो, कालोफिनेल, स्याम्पूका जर्किनहरु छन् । कोठाभरी हात धुने, भाँडा धुने र नुहाउने साबुन, सिसा पुछ्ने, गाडी धुने सेम्पू, गाडी टल्काउने वाक्स लगायत छन् । यसैगरी शौचालय सफागर्ने हापुर, रुन्टी हार्पीक, सिसा चमचम, भुईं सफागर्ने ?रुन्टी लाईजोल छन् । उहाँ यी वस्तुको निरन्तर उत्पादनमा जुट्नु भएको छ, ‘यिनी सबै आँफै बनाएँ’ गौतमले भन्नुभयो, ‘ग्राहकले बहुत राम्रो भन्नुभएको छ ।’ उहाँका अनुसार ग्राहक निकै कम छन् ।

उहाँसँग दुईजना सहयोगी चुडामणि शर्मा र सञ्जिव थापा हुनुहुन्छ । उत्पादन गर्ने सिप सिकाएको गौतम बताउनुहुन्छ । उहाँका अनुसार अर्काको फर्मुलाले काम गर्ने रहेनछ । पैसा तिरेर फर्मुला सिक्न खोज्दापनि अधुरो भन्दा रहेछन् । यस विचमा विज्ञहरुको गजबको बठ्याइँ पत्ता लाग्यो । नेटमा गएर खोज्ने र त्यसलाई प्रयोगमा ल्याएर थप विकसित गरी उत्पादन गर्नुहुन्छ । अहिले सम्म धेरै वस्तु उत्पादन भए । सबै उत्कृष्ट बने । आगामी जीवन पनि खोज अनुसन्धानमै व्यस्त बनाउने गौतमको रहर छ । ‘मेरो साबुनले नुहायो भने अरु मन नपराउने हुन्छन्’ उहाँले भन्नुभयो, ‘एक चोटी लिन आयो भने त्यो फसी हाल्यो ।’ उहाँका अनुसार होलसेलवाला बिच्किन्छन् । उनीहरुको उचित सहयोग नहुँदा उत्पादनले बजार पाएन ।

उहाँका अनुसार बजारमा धेरै होलसेल वालाले कमसल मालमा धेरै फाइदा खोज्दा रहेछन् । ती होलसेल वालासित कुरा मिलेन । थोरै फाइदामा रुन्टी ब्राण्ड पाइन्छ । नगद दिनुपर्छ । उधारो लैजाने विक्री भएपछि पैसा दिने होलसेलवाला धेरै रहेछन् । देख्दा चमक छैन । शरीरलाई जस्तो सुकै असर गरेपनि देख्दा राम्रो चाहिने उपभोक्ता रहेछन् । त्यसका लागि खराब केमिकल पनि मिसाउनुपर्छ । यस्तो गर्न आफूलाई नैतिकताले नदिएको गौतम बताउनुहुन्छ । यस्तै कारणले रुन्टी उप्पादन व्यापक हुन नसकेको गौतमको भनाइ छ ।

गाइको घिउ, चिउरी, निम, अरन्डी, नरिवल, सूर्यमुखी, पाम तेल र वलीव आयल लगायत नुहाउने साबुनमा मिसाउनुहुन्छ । यसैगरी मह, एलोभेरा जेल, खली, चनाको वेसन लगायतका जीवन उपयोगी वस्तु त्यो साबुनमा प्रयोग भएका छन् । तेलको १५ प्रतिशत मात्रै काष्टिक सोडा प्रयोग भएकाले केमिकलको मात्रा निकै न्युन रहेको गौतम बताउनुहुन्छ । फलामका ठूलठूला कराईमा खियाएर बनाउनुहुन्छ । त्यसरी पकाउँदा कालो हुन्छ । ग्राहकले मन पराउँदैनन् ।

यसरी रंगिचंगी नदेखिने वस्तु अहिलेको फेसनेवल दुनियाँमा पछि परेको छ । उहाँका अनुसार कुनै साईड इफेक्ट छैन । केमिकल नहाल्दा हेर्दा कालो देखिएको हो भनेर सम्झाउँदा थोरैले विश्वास गर्छन् । सबै उत्पादनमा केमिकलको मात्रा निकै कम छ । जीवनलाई उपयोगी वस्तु मात्रै छन् । प्रयोग पछि कुनै समस्या आउँदैन भन्नेमा ढुक्क हुन गौतम आग्रह गर्नुहुन्छ ।