काठमाडौँ। नेकपा एमालेको कार्यदलको बैठक सुरू भएको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो । सोमबारदेखि जारी रहेको बैठक निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेको बताइएपनि कुनै सहमति हुन सकेको छैन ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएपछि बिहीबार बसेको बैठकमा कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । तर, साँझको बैठक भने एजेन्डामा प्रवेश नै नगरी सकिएको थियो ।
आजको बैठकमा पार्टी उपाध्यक्ष एवं नेपाल पक्षका कार्यदल संयोजक भीम रावल र उपमहासचिवसमेत रहेका ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल हुने बताइएको छ ।