कैलाली । कोरोनाको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । जोखिम मोलेर कमाइ गर्न जानु उनीहरुको बाध्यता हो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै कैलालीको त्रिनगरहुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि हुन थालेको हो ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठूलो संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट फर्किएका थिए । संक्रमणको रफ्तार केही कम भएसँगै निषेधाज्ञा खुकुलो भएपछि उनीहरु फेरि कामको खोजीमा भारत जान थालेका हुन् ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक सरदर तीन हजारको संख्यामा नेपालीहरु भारततर्फ जाने गरेको नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए । हाल यो नाकाहुँदै नेपाल भित्रिनेभन्दा भारत जानेको संख्या अत्यधिक रहेको उनको भनाइ छ ।
उनका अनुसार बिहीबार यो नाकाबाट ४४९ जना नेपाली भित्रिएका छन् भने २ हजार ३९६ जना भारततर्फ प्रस्थान गरेका छन् । चैत १ गते यता त्रिनगर भन्सार नाकाबाट ५२ हजार १२५ जना नेपाली नागरिक कामको सिलसिलामा भारततर्फ गएको उनले बताए ।
यो अवधिमा केही साता निषेधाज्ञाका कारण भन्सार नाका सुनसान जस्तै थियो । त्यतिबेला भारत जानेको संख्या लगभग शून्य रहे पनि पछिल्लो समय दैनिक दुई÷तीन हजार जनाका दरले नेपालीहरु भारततर्फ जाने गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइ नेपाल भित्रिनेहरुको ज्वरो मापन तथा शंकास्पदको एन्टिजेन परीक्षणसमेत गर्न थालिएको छ ।
संक्रमणको दोस्रो लहर सुरु भएपछि यो नाकामा २६ हजार ८४२ को एन्टिजेन परीक्षण गरेकोमा २ हजार ५८४ जनामा कोरोना ‘पोजेटिभ’ पाइएको ठकुल्लाले बताए । पछिल्ला दिनमा भारतबाट नेपाल आउनेको संख्या निकै कम रहेको उनले बताए । ‘अहिले त भारतबाट आउनेको संख्या कम छ,’ उनले भने, ‘बरु नेपालबाटै भारत जानेको संख्या बढ्दो छ ।’
हेल्थ डेस्कमा २१ जना खटिएको र उनीहरुले तीन सिफ्टमा काम गर्ने गरेको उनको भनाइ छ । बिहान ६ बजेदेखि राति ९ बजेसम्म सिफ्ट मिलाएर काम गर्दै आएको हेल्थ डेस्कका अहेव लोकेन्द्र शाहीले जानकारी दिए । शाहीका अनुसार भारतबाट आउने नेपालीको एन्टिजेन परीक्षण गर्दा एक÷दुई प्रतिशतमा मात्र कोरोना पोजेटिभ देखिने गरेको छ ।
बिहीबार त्रिनगर भन्सार नाकाबाट भारत जानेको लर्कोमा सुर्खेतका उज्वल विक पनि सामेल थिए । कोरोनाको कहर भए पनि परिवारको गुजाराका लागि आफू बाध्य भएर भारत जानुपरेको उनको भनाइ छ । ‘नेपालमा काम पाइँदैन,’ उनले भने, ‘परिवार पाल्न बाध्य भएर भारत जान थालेको हुँ ।’
बझाङ्गका ४० वर्षीय सुजन रोकाया पनि कामको खोजीमा दिल्लीतर्फ जाँदै थिए । भारतमा कोरोनाको दोस्रो लहर फैलन थालेसँगै नेपाल फर्किएका उनी तेस्रो लहर आउने चेतावनी दिइरहेकै समयमा फेरि भारततिर जान लागेका हुन् ।