कविता
शिक्षक मैन बत्ती हो
आफू पग्लिएर जाने, प्रकाश विद्यार्थीलाई दिने
पग्लिएर सकिँदा घरपरिवारले तिमीलाई कहाँ पाउलान् ?
त्यसैले परिवारका लागि तिमी बाँच्न जरुरी छ
पग्लेर अस्तित्व सकिएको होइन,
बाआमा तिमीलाई सिङ्गै देख्न चाहन्छन्,
तिम्रा श्रीमान र श्रीमतीलाई तिम्रो आवश्यकता छ
अरुलाई प्रकाश दिने नाममा आफै सकियौ भने
छोराछोरी कस्को काखमा खेल्लान् ?
उनीहरूको खाना लुगा कस्ले किनिदेला ?
विद्यालय क्याम्पसको शुल्क कसले तिरिदेला ?
स्वास्थ्य सेवाको ग्यारेन्टी नभएको देशमा
परिवार विरामी हुँदा अस्पतालको बिल कसले भर्ला ?
परिवारको खुशी कसले भरिदेला ?
तिमी बाँच्नुपर्छ नानी, मैन झैं पग्लेर सकिनु हुँदैन
त्यसैले बिन्ती छ नानी, शिक्षक नबन
किन की स्वास्थ्यकर्मी झैं पाँच वर्ष मै स्वतः बढुवा हुँदैन यहाँ
निजामती झैं चालिसदेखि सय प्रतिशतसम्म स्वतः बढुवा हुँदैन यता
बैंकका कर्मचारी झैं बिना ब्याज कर्जा पाइँदैन
हाजिर गर्ने कलम पनि स्टोरबाट पाइँदैन, आफैले किन्नु पर्छ
विभिन्न शिर्षकमा भत्ता पाइने छैन
शिक्षणका लागि आवश्यक पुस्तक र शैक्षिक सामग्री
त्यही तलवको पैसाले किन्नु पर्नेछ
पारिवारिक सामाजिक जीवन त्यहीले धान्नु पर्नेछ
अरू कर्मचारी झैं तलव बुझ्न एक महिना होइन, चार महिना कुर्नुपर्नेछ
त्यसैले बिन्ती छ नानी, शिक्षक नबन ल ।
निजामती कर्मचारीलाई झैं अस्पताल छैन
सैनिक, प्रहरी निजामतीका सन्ततिलाई झैं स्कुल छैन
कर्मचारीलाई झैं सरूवा हुन सजिलो छैन
सरुवा भइहाले कर्मचारीलाई झैं सरूवा भत्ता छैन
दुर्घटना बीमा छैन, भ्रमण भत्ता छैन
अरुलाई झैं पचास, सय र दुई सय प्रतिशत भत्ता छैन
शिक्षाका कर्मचारी झैं एसईईको परिक्षाफल तयारीमा भत्ता पाउने छैनौ
गाडी सुविधा छैन, इन्धन सुविधा छैन
सार्वजनिक बसमा उभिएर यात्रा गर्नुपर्छ
भान्से, चालक र सुरक्षाकर्मीको सुविधा छैन
आवास वा घर मर्मतको सुविधा छैन
तलवले पुग्दैन, जीवनमा खुम्चिएर बस्नुपर्छ
बिन्ती छ नानी, शिक्षक नबन ।
शिक्षकलाई विश्वविद्यालयमा बिसाउन पनि कुर्सी–टेबल दिइँदैन
कि खाली ठाउँमा बस्नुपर्छ कि उभिनु पर्छ
तिम्रो पढाइ र क्षमताको खिल्ली उडाइनेछ,
अन्यत्र नसकेर शिक्षक बनेको भनेर
स्कूल कलेजका तिमी भन्दा कमजोर साथीहरु
कोही निजामतीमा छन्, कोही सुरक्षा निकायमा छन्
कोही बैंकमा छन्, नेता छन्, मन्त्री प्रधानमन्त्री छन्
तिमीले तिम्रो पढाइ र क्षमताको इज्जत जोगाउन पनि
बिन्ती छ नानी, शिक्षक नबन ।
किसान पनि नबन, बरु बिचौलिया बन
सामान्य मतदाता होइन, कार्यकर्ता नेता बन
स्वास्थ्य बीमा तथा सम्मान छ, पत्रकार बन
पैसा छ इज्जत छ, वकिल बन
खुद्रा पसले होइन, अधिकृत विक्रेता बन
समाजसेवी होइन, डन ठेकेदार बन
जग्गा जोत्ने होइन, जग्गा दलाल बन
भविष्य सुरक्षित हुन्छ रे, बीमा एजेन्ट बन
सकभर देश त्यागेर यूरोपतिर जाउ
बिन्ती छ नानी, शिक्षक नबन ।
यो उदारवादी अर्थ व्यवस्थामा
यो भौतिक व्यक्तिवादी संसारमा
पैसा कमाउनु पर्छ, जीवन जीउनु पर्छ
आदर्शले पेट भरिँदैन, अभाव टर्दैन
परिवारको खुशी देखिने छैन
कार्यकर्ता नेताले भर्याङ् बनाउँछन्
सुरक्षाकर्मी र कर्मचारीले लिस्नु बनाउँछन्
डाक्टर इन्जिनियरले खराब डुङ्गा ठान्छन्
त्यसैमा खुट्टाले कुल्चिने र थुक्ने गर्छन्
आत्मसम्मानको चिरहरण हुनेछ
बिन्ती छ नानी, शिक्षक नबन ।
एक डाक्टर कमसल हुँदा एकदुई जीवन जान सक्छ
एक शिक्षक कमजोर भए हजारौं जीवन बर्बाद हुन्छ
तर स्वास्थ्यकर्मी कर्मचारी भन्दा हजारौं गुणा कम सुविधा र सम्मान छ
विद्यार्थी सफल भए, उनकै क्षमताले
विद्यार्थी असफल भए, शिक्षकको असक्षमताले
शिक्षा हेर्ने कर्मचारी उत्कृष्ट, शिक्षक असफल
नेता कार्यकर्ता सफल, शिक्षक असफल
शिक्षक शिक्षालय तथा घर समाजमा असफल
शिक्षक बन्ने रहर पछि गलपासो बन्नेछ
बिन्ती छ नानी शिक्षक नबन
शिक्षक नबन, शिक्षक नबन ।
कवि : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।