• मंसिर १५ २०८१, शनिबार

ओली-नेपालबीचको वार्ता निष्कर्ष विहीन

असार २३ २०७८, बुधबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा भएको छलफल निष्कर्षविहीन भएको छ । मेरियट होटलमा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो ।

बैठकमा अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘खासगरी अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बन्यो,’ ती नेताको भनाइ छ ।

भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो । उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए ।

तर साँझको भेटमा ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखे पछि सहमति हुन सकेन । मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।