• असार १६ २०८१, शनिबार

स्वस्थ्य जीवन जीउन चिकित्सकका ४ सुझाव

असार २३ २०७८, बुधबार

खानपान नियमित भएन भने मानिसलाई निद्रा नलाग्ने र टाउको र शरीर दुख्ने हुन्छ । यसले शरिरको हर्मोन सन्तुुलनमा गडबडी ल्याउँछ । साथै मोटोपन बढाउने, चिन्ता र निराशा हुने जस्ता समस्या देखिन्छन् । त्यसैले स्वस्थ जीवनका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यति मात्र होइन, खानपानमा व्यस्थित नभए मानिसको जीवनशैली नै अस्तव्यस्त हुन्छ ।

यी र यस्ता कारणहरुले पनि तनाव, उच्च रक्तचाप, हृदय रोग, मधुमेह रोगीको संख्या बढ्ने गरेको चिकित्सक बताउँछन् । योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलले भोजन, व्यायाम र तनाव व्यवस्थापनले जीवनशैलीमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । उनका अनुसार मानिसको दैनिक जीवनशैलीमा सबैभन्दा बढी प्रभाव भोजनकै हुन्छ ।

दाल, भात, तरकारी, फलफूल, हरियो सागपात, दूध, दहीमा शरीरलाई चाहिने पोषण तत्व पाइन्छ । त्यसैले यिनलाई नियमित आहारको हिस्सा बनाउनुपर्ने पोखरेल बताउँछन् । नसर्ने रोग सम्बन्धी जोखिम तत्वको सर्वेक्षण अनुसार अस्वस्थ खानपिन र निष्क्रिय जीवनशैलीका कारण मोटोपन, उच्च रक्तचाप, मधुमेह बढ्दै गएको छ । नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगका कारण ६६ प्रतिशतको ज्यान जाने गरेको अध्ययनको निष्कर्ष छ ।

खानपानमा सन्तुलन नमिल्नु, नुनको मात्रा धेरै हुनु, उमेर अनुसार खानेकुरा नखानु आदि कारणले स्वास्थ्य समस्या बढेको हो । यस्तै अव्यवस्थित जीवनशैली, शारीरिक रुपमा निष्क्रिय र खानपानमा विशेष ध्यान नदिँदा पनि मानिस रोगी बनेका छन् । वीर अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्राडा विधाननिधि पौडेल खानपानमा ध्यान नदिँदा नेपालीमा मोटोपन बढ्दै गएको बताउँछन् ।

उनका अनुसार नेपालमा २० प्रतिशत भन्दा बढीमा मोटोपनको समस्या छ । अव्यवस्थित खानपानले मधुमेह, उच्च रक्तचाप, मोटोपन, कोलेस्टोल जस्ता समस्या देखिने उनले बताए । कोरोना महामारीका कारण घरमै रहेका बेला खानपान र जीवनशैली नियमित बनाउनु पर्ने उनको सुझाव छ । खानपानको शैली नियमित बनाएमा डाइटिङ गर्न आवश्यक नरहेको उनी बताउँछन् ।

व्यवस्थित खानपनका डा.पौडेलका सुझाव :

खानाको दैनिक तालिका :

–खानेकुरा नियमित एउटै तालिकामा खानुपर्छ । बिहानको नास्ता पेटभर खानुपर्छ । यसमा रोटी, गेडागुडी, फलफूल, ब्राउन ब्रेड, बटर, चीज, दुध, अण्डा, चिया, कफी खानु राम्रो हुन्छ ।

–खाजा खाएको पाँच घण्टापछि खाना खानुपर्छ । खानामा दाल, तरकारी, साग, रोटी, मासु, फलफूल आदि हुनुपर्छ ।

–दिउँसोको समयमा हलुका खाजा, चिया, कफी लिन सकिन्छ ।

–बेलुकाको खाना ७ बजेसम्म खाइसक्नुपर्छ । बेलुका पनि दालभात नै खाने हो भने निकै कम खानुपर्छ । माछामासु बेलुका नखाँदा राम्रो हुन्छ । खाना खाइसकेपछि कम्तीमा २ घण्टा सुत्नु हुँदैन । खाना खानेबित्तिकै सुत्दा खाना नपच्न सक्छ ।