• आश्विन ५ २०८१, शनिबार

राष्ट्रपति र प्रधानमन्त्री बन्न सफल एकैघरका आमाछोरी

असार २३ २०७८, बुधबार

काठमाडौं । संसारको राजनीतिक कोणबाट हेर्दा दक्षिण एसिया पछाडी परेको देशहरुको सूचिमा सुचिकृत हुन्छ । यस क्षेत्रमा आम मानिसहरुको आर्थिक, सामाजिक र राजनैतिक अवस्था अरु विकसित देशहरुको तुलनामा पछि परेको रुपमा हेरिन्छ र बुझिन्छ । आम मानिसको सबै अवस्था कमजोर भएको स्थानमा स्वभावैले महिलाहरुको अवस्था झन् कमजोर रुपमा हेरिन्छ र बुझिन्छ पनि ।

संसारको यो क्षेत्रमा महिलाहरुको अवस्था कमजोर नै रहेको भनेर अरु बाहिरी संसारले हेर्ने र बुझ्ने गरेको देखिन्छ तर यही क्षेत्रमै केही सिमित महिलाहरु भने राज्यको उपल्लो ओहदामा पुगेर देशलाई नेतृत्व गर्नेसम्म अवसर पाएका छन् । एउटा महिलाले मात्रै नभएर यही दक्षिण एसियामा धेरै महिलाहरु राज्यको उपल्लो ओहदामा आसिन भइसकेका छन् ।

दक्षिण एसियामै एकचोटी एउटा देशमा यस्तो दृश्य देखियो जहाँ आमाछोरीले नै एकैचोटी पुरै देशको राजनीतिक व्यवस्था संचालन गरे । छोरी राष्ट्रपति र आमा प्रधानमन्त्री एउटै समयमा भएर आमाछोरीले राज्य गरेको हुनाले कतिपय मानिसहरुले अहिलेपनि त्यो देशलाई ‘आमा छोरीले राज्य गरेको देश’ भनेर पनि चिन्दछन् ।

आमाछोरीले एकैचोटी शासन गरेको देश :

श्रीलंकालाई सुनैसुनको देश मात्रै होइन वैज्ञानिक रावणको देश पनि भनेर मानिसहरुले चिन्ने गर्छन् । हिन्दु धर्मशास्त्रको एउटा मुख्य ग्रन्थ रामायणमा उल्लेख भए अनुसार रामले युद्धमा पराजित गरी मारिएका पौराणिक कालका श्रीलंकाका राजा रावणले राज्य गरेको सो देशमा कालान्तरमा एकपटक एकै समयमा आमाछोरीले एकैचोटी प्रधानमन्त्री र राष्ट्रपति भएर समेत शासन गरेका देशकोरुपमा चिनिएको छ ।

आमा सिरिमाओ बण्डारा नाइके र उनकै छोरी चन्द्रिका कुमारातुङ्गाले एउटै कार्यकालमा आमा प्रधानमन्त्री र छोरी राष्ट्रपति भएर शासन गरेका थिए । सन् १९९४ देखि २००० सम्म गरेर ६ वर्ष श्रीलंकामा छोरी चन्द्रिका र आमा सिरिमाओले राष्ट्रपति र प्रधानमन्त्री भएर सो देश चलाएका थिए । संसारमा यस्तो दृश्य विरलै भेटिने मात्रै होइन त्यो भन्दा पहिले कहीँ देखिएको समेत थिएन ।

आमा छोरीबारे १० रोचक प्रसंग :

१) सन् १९९४ देखि सन् २००० सम्म श्रीलंकामा आमा (सिरिमाओ बण्डारानाइके) प्रधानमन्त्री र छोरी (कुमारातुङ्गा ) राष्ट्रपति रहेका थिए ।

२) आमा विश्वको पहिलो महिला प्रधानमन्त्री समेत रहेकी छिन् भने उनी सन् १९६० जुलाई २१ तारिकका दिन श्रीलंकाको प्रधानमन्त्री चुनिएकी थिइन् । उनी तीन कार्यकाल गरेर जम्माजम्मी १८ वर्ष श्रीलंकाको प्रधानमन्त्री भएकी थिइन् ।

३) छोरी सन् १९९४ मा तीन महिना प्रधानमन्त्री र त्यसपछि ११ वर्ष सो देशको राष्ट्रपति रहेकी थिइन् ।

४) यो आमाछोरीको परिवारले सन् १९५१ देखि सन् २००६ सम्म (५५ वर्ष) श्रीलंकाको फ्रिडम पार्टीको नेतृत्व गरेको थियो । त्यसयता सो पार्टीको नेतृत्व महेन्द्रा राजापाक्षले लिएका छन् ।

५) आमाले आफूभन्दा १७ वर्ष जेठा प्रधानमन्त्री सोलोमन बण्डारानाइकेसँग विवाह गरेकी थिइन् भने छोरीले आफूभन्दा चार महिना कान्छा चलचित्र अभिनेता विजय कुमारातुङ्गासँग विवाह गरेकी थिइन् ।

६) आमाको १८ वर्षमात्र वैवाहिक जीवन चलेर विधवा भएकी थिइन् भने छोरीले १० वर्षमात्र वैवाहिक जीवन व्यतित गरेर विधवा भएकी थिइन् ।

७) आमाको जन्म सन् १९१६ अप्रिल ७ मा भएको थियो भने उनले छोरी चन्द्रिका कुमारातुंगालाई सन् २९ जुन  १९४५ मा जन्म दिएकी थिइन् ।

८) सन् १९९४ देखि सन् २००० सम्म आमाछोरी प्रधानमन्त्री र राष्ट्रपति भएको भएपनि आमाको सन् २००० अक्टुवर १० मा मृत्यु भएको थियो भने छोरीले सन् २००५ नोभेम्बर १९ सम्म आफ्नो राष्ट्रपतिको पद सम्हालेकी थिइन् ।

९)चन्द्रिका कुमारातुङ्गाले १९७८ मा विजय कुमारातुङ्गासँग विवाह गरेकी थिइन्, जसको १६ फेब्रुअरी १९८८ मा हत्या भएको थियो।

१०) हाल ७६ वर्षको वयोवृद्ध जीवन व्यतित गरिरहेकी श्रीलंकाकि प्रथम महिला राष्ट्रपति चन्द्रिका कुमारतुङ्गालाई २०१८ मा फ्रेन्च पदक कमान्डर अफ लिजन अफ अनरले सम्मानित गरिएको थियो। कुमारतुङ्गाका बुवा र आमा दुवैजना उनको देशको प्रधानमन्त्री भएका थिए।