गजल १
जिन्दगीमा के के लेखें हिसाब लेखिएन
गीत लेखें, गजल लेखें किताब लेखिएन ।
सतहमा रम्नेकुरा कति लेखें कति
मनसँग मनले खोज्ने मिलाप लेखिएन ।
विचार भन्दै, वर्ग भन्दै, द्वन्द्व लेखिरहें
मानवता र सामाजिक सद्भाव लेखिएन ।
आक्रोश पोखें,इर्ष्या पोखें,आलोचना लेखें
कसैलाई बाटो दिने सुझाव लेखिएन ।
कोपिलाको फुल्ने रहर अक्षर बनिरह्यो
फुलेका ती फूलहरुको सुवास लेखिएन ।
गजल २
कोही पनि हुन्न साथी यहाँ नदी जस्तो
संगति पनि छैन अचेल संगति जस्तो ।
कागज र अक्षर पनि पराधीन भए जब
न कलम कलम जस्तो,न मसी मसी जस्तो ।
फर्किन्छु जब जब म स्वप्न उडान गरी
नाँचौं नाँचौं झैं लाग्छ मलाई चरी जस्तो ।
कहिले हाँस्छ मन फूलजस्तो,रुन्छ जूनजस्तो
कहिले एक्लै लजाउँछ युवती जस्तो ।
तर्क र आलोचना मुलमन्त्र भएदेखि
कवि पनि अचेल त लाग्दैनन् कवि जस्तो ।
सम्झना पनि बनिदिन्छ कहिले काहीँ
आयुर्वेदको कुनै पुरानो औषधी जस्तो ।
कुन्नी के भो हेर्नुहोस् त प्रिय ‘कोपिला’जी
लाग्दैन यो जिन्दगी पनि जिन्दगी जस्तो ।
हालः नेपालगञ्ज-१ आदर्श मार्ग ।