काठमाडौँ । काठमाडौँको तिलगंगास्थित पारागन स्कूलमा अभिभावक र संचारकर्मीमाथि विद्यालय प्रशासनबाट भएको आक्रमणको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारीले) निन्दा एवं भत्सर्ना गरेको छ । असार २१ गते काठमाडौँको तिलगंगास्थित पारागन स्कूलमा मनपरी ढंगले शुल्क वृद्धि गरेको विषयलाई लिएर छलफलका लागि गएका अभिभावकहरुमाथि स्कूल प्रशासनले आक्रमण गरेको र संचारकर्मीहरुलाई समेत दुर्व्यवहार गरेर क्यामरा तोडफोड गरेको भन्दै क्रान्तिकारीले सो घटनाको निन्दा गरेको हो ।
अभिभावकहरुले गरेको कदमलाई साहसपूर्ण भन्दै क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडाभन्दा कडा कारवाहीको गर्न लागि सरकारलाई अनुरोध गरेका छन । सरकारले कारवाही नगरे शैक्षिक माफिया र दलालहरुलाई आफैले कारवाही गर्ने चेतावनी समेत गजुरेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा चेतावनी दिइएको छ ।
त्यस्तै क्रान्तिकारीले पछिल्लो पटक चितवनको राप्ति नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने बीबीएस चौथो वर्षको परिक्षा दिएर बसेकी सुजिता भण्डारी ९ दिनसम्म बेपत्ता भएपश्चात ब्रह्मास्थानी सामुदायिक वनमा मृत भेटिएको घटनाले आफ्नो संगठन मर्माहत भएको बताएको छ । सुजिता घटनामा नेपाल सरकार र सम्बन्धित निकायले गैह्रजिम्मेवारीपन देखाएको भन्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरि छिटो भन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाहीको लागि माग गरेको छ भने पीडित परिवारलाई उचित क्षतिपुर्ती सहित राहतको व्यवस्था गर्न क्रान्तिकारीले अपिल गरेको छ ।
नेपालमा दिन प्रतिदिन बलात्कार र हत्या लगायत महिला हिंसाका घटनाहरु भएको उल्लेख गर्दै यस्ता घटनाहरुबाट बच्चादेखि वृद्ध महिला समेत हिंसामा परेको उसले बताएको छ । यस्ता घटनामा नेपाल सरकार कत्तिपनि जिम्मेवार भएको नदेखिएको बताउँदै क्रान्तिकारीले प्रधानमन्त्री केपी ओली आफैं माफिया र दलालहरुको नाईके बनेर गतिविधि संचालन गरिरहेको आरोप समेत लगाएको छ ।