काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनमा लगाइँदै आएको जोर–बिजोर प्रणाली आजदेखि हटेको छ । कोरोना संक्रमण कम हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइक्रो, टेम्पो लगायत साना सवारी साधन पनि सञ्चालन गर्न दिएको छ ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ ।
यातायात व्यवसायीको माग र चर्को दबाबपछि जोर–बिजोर प्रणाली हटाइएको हो भने साना सवारी सधान पनि सञ्चालन गर्न दिइएको हो । काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी साधनले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।
पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ । तर, परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । विद्यालयहरू खोल्न भने पाइने छैन । सभा तथा सम्मेलन गर्न रोक लगाइएको छ । क्लब, सिनेमा हल खोल्न पाइने छैन । २५ जनाभन्दा बढी उपस्थित हुन तथा कुनै पनि कार्यक्रम गर्न पाइने छैन ।
औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्न पाइने छ । तर अन्य पसल तथा व्यवसायहरु साँझ ६ बजेसम्म मात्रै संचालन गर्न पाइने । पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।
यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गरिने बताइएको छ । अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ ।