• मंसिर १५ २०८१, शनिबार

एमालेको एकता जोगाउन कार्यदल पुनःब्युँताइयो, सिंहदरबारमा बैठक जारी

असार २१ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठन गरिएको कार्यदल पुनः ब्युँताइएको छ ।

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल ब्युँतिएको हो । आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले छलफल गरेसँगै कार्यदललाई औपचारिक रुपमा ब्युँताइएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसहित २३ सांसदलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमको समय समाप्त भए पनि एकताका लागि पुनः कार्यदल गठन गरेर बैठक बोलाइएको छ ।

कार्यदल ब्युँतिएसँगै यसअघि अनौपचारिक रुपमा भएका वार्तामा तयार मस्यौदालाई आधार मानेर सोमबारबाटै सहमति जुटाउने प्रयास थाल्ने नेताहरुले बताएका छन् ।

सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।